अस्ट्रेलियामा नेपालको लगातार तेस्रो हार

१७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमै समेटियो ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Nepal's third consecutive defeat in Australia

What you should know

काठमाडौँ — अस्ट्रेलियामा जारी टप–एण्ड टी–२० प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । समूह चरणका ६ खेलमध्ये नेपालले लगातार तीन खेल हारेको हो । 

तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो । १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमै समेटियो । 

पहिलो खेल नर्दन टेरिटोरी स्टाइकर्ससँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । 

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रनआउट हुनुअघि उनले ४९ बल खेल्दै ५३ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन जोडे भने ओपनर कुशल भुर्तेलले २५ रन जोड्दा कुशल मल्लले ११ रन जोडे ।

मेलबर्नका लागि अस्टिन अन्लेजार्क र ड्युग वारेनले २/२ विकेट लिँदा आर्यन शर्माले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोडेको थियो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए । मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले ।

पहिलो ओभरमै विकेट लिएर नेपालले त्यसपछि सम्हालिन नसक्दा विशाल स्कोरको लक्ष्य पायो । सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । यस्तै सोमपाल कामी र साहब आलमले १/१ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully