अस्ट्रेलियामा नेपालको लगातार हार

नेपाल अघिल्लो दिन पनि नर्थन टेरिटोरी स्ट्राइकसँग ४५ रनले पराजित भएको थियो ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Consecutive defeat of Nepal in Australia

What you should know

काठमाडौँ — नेपालले टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । अस्ट्रेलियाको डार्बिनमा भइरहेको प्रतियोगितामा स्पर्धामा शनिबार बंगलादेश ‘ए’ सँग नेपाली राष्ट्रिय टोली ३२ रनले पराजित भयो । नेपाल अघिल्लो दिन पनि नर्थन टेरिटोरी स्ट्राइकसँग ४५ रनले पराजित भएको थियो ।

मारारा क्रिकेट मैदान–२ मा बंगलादेश ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८६ रन बनायो । ओपनर जिसन अस्लामले सर्वाधिक ७३ रन बनाए । उनले ४६ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे । उनले मोहम्मद नैमसँग पहिलो ७ ओभरभित्र ६२ रन जोडेर बंगलादेशलाई उत्कृष्ट सुरुआत दिलाए । नैमले १८ बल खेल्दा २ चौका र १ छक्कासहित २५ रन बनाएका थिए । 

सैफ हसन ११ रनमा आउट भए । अफिफ हसनले २३ बल खेल्दै ८ चौकासहित अविजित ४८ रन बनाए । नेपालबाट रिजन ढकालले ३ ओभरमा ३४ रन खर्चेर २ तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

कुशल मल्लले अविजित ५९ रन बनाए पनि जवाफमा नेपालले ७ विकेट गुमाई १ सय ५४ रनमात्र बनाउन सक्यो । नर्दन टेरिटोरीविरुद्ध अघिल्लो दिन पनि नेपालले ८ विकेट गुमाई १ सय ३५ रनमात्र बनाउन सकेको थियो । अस्ट्रेलिया भ्रमणबाट नेपाली टोलीमा पुनरागमन गरेका कुशलले ४७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । 

ओपनरद्वय कुशल भुर्तेल ७ बल खेल्दै ३ चौकासहित १२ र आसिफ शेख २४ बलमा समान १ चौका र छक्का प्रहार गरेर २८ रनमा आउट भए । लोकेश बमले ३ चौका प्रहार गरी १० बलमा १५, कप्तान रोहित पौडेलले १३ बलमा २ चौकासहित १० रन बनाए । दीपेन्द्रसिंह ऐरी १, करण ६ र गुलशन झा शून्यमा आउट भए । नन्दन ९ बल खेल्दै २ चौकासहित १४ रन बनाए । बंगलादेश ‘ए’ का रकिबुल हसनले ४ ओभरमा १८ रनमात्र खर्चेर ३ र हसन महमुदले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नेपालले सोमबार मेलबर्न स्टार्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

कान्तिपुर

Link copied successfully