वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बासडर तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् ।
What you should know
पर्सा — वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी शुक्रबार वीरगन्जमा अनावरण गरिएको छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बासडर तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरे । मेयर सिंहले मधेश युनाइटेडको नयाँ जर्सी पनि सार्वजनिक गरे । जर्सी मार्की खेलाडी निरुता ठगुन्नालाई हस्तान्तरण गरिएको थियो ।
मेयर सिंहले भलिबल खेलको विकास र महिला सशक्तीकरणमा लिगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले खेल मनोरञ्जनका लागि मात्र नभई यसले पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने बताए । वीरगन्ज महानगर भलिबल
खेलको प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको पनि उनले प्रतिवद्धता जनाए । मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले भलिबल खेललाई मधेशमा थप विस्तार गर्न सुझाए । वीरगन्ज उद्योग वाणिज्य
संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता प्रतियोगिताले युवालाई सकारात्मक बाटो देखाउने र सहरको प्रतिष्ठा बढाउने बताए ।
मधेश स्पोर्ट्स प्रालिको स्वामित्व रहेको मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवालले संस्थाको स्थापना र उद्देश्यबारे प्रकाश पारेका थिए । मधेश युनाइटेडकी प्रमुख खुशी सिवाकोटीले टिमको विगत, सिकाइ र आगामी योजनाबारे प्रस्तुति दिँदै सुधार र प्रतिबद्धतासहित कोर्टमा फर्किन लागेको बताइन् ।
यसपालि टिमले नेदरल्यान्डसका तीन खेलाडी अनुबन्ध गरेको उनले जानकारी गराइन् । ब्रान्ड एम्बासडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व र उत्साही भएको बताइन् । मार्की खेलाडी निरुता ठगुन्नाले नयाँ जोश र आत्मविश्वासका साथ यसपटक ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गरिन् । उनले विगतको अनुभव र पहिलेका कमीकमजोरी सुधार्दै ट्रफी उचाल्ने दाबी गरिन् ।
मधेश युनाइटेडकी सञ्चालक शर्मिला थापाले भलिबल राष्ट्रिय खेल मात्रै नभएर एकताको सूत्रमा बाँध्ने माध्यम पनि रहेको बताइन् । उनले सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी निरुतालाई मधेशको मार्की खेलाडी बनाउनु पनि आफैंमा फरक भूगोल र फरक क्षेत्रको संस्कार र संस्कृतिको मिलन भएको बताइन् । अर्का सञ्चालक अनोज रुङ्टाले मधेश युनाइटेडलाई साथ, सहयोग र समर्थन गर्न आग्रह गरे ।
