तामाङ महिलाले खेलकुद क्षेत्र, विशेषगरी फुटबलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानलाई कदर गर्दै जनही ५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । आयोजकका अनुसार तामाङ समुदायभित्र मात्र नभई समग्र नेपाली खेल क्षेत्रमा महिला खेलाडीहरूको उपस्थिति प्रेरणादायी छ ।
What you should know
काठमाडौँ — विगत २४ वर्षदेखि तामाङ भाषा, साहित्य तथा संस्कृति क्षेत्रमा क्रियाशील तामाङ डाजाङले शनिबार सम्पन्न २३५औं श्रृंखलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्याएका पूर्व तथा वर्तमान तामाङ महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ ।
तामाङ महिलाले खेलकुद क्षेत्र, विशेषगरी फुटबलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानलाई कदर गर्दै जनही ५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । आयोजकका अनुसार तामाङ समुदायभित्र मात्र नभई समग्र नेपाली खेल क्षेत्रमा महिला खेलाडीहरूको उपस्थिति प्रेरणादायी छ ।
सम्मानित खेलाडीमा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, अनु लामा, रेणुका नगरकोटे (लामा), रश्मिकुमारी घिसिङ, मञ्जली योञ्जन, निशा थोकर, अञ्जना राणामगर (तामाङ), अञ्जली वाइबा, सपना लामा, सजनी थोकर, रजनी थोकर, सुजता तामाङ, यशोदा थोकर, निकिता थोकर, रबिना गोले र अन्जु लोप्चन रहेका छन् ।
त्यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा घिसिङले महिला खेललाई पैसामा दाज्न नसकिने भन्दै एन्फाले महिला फुटबललाई प्राथमिकतामा राखेको बताए । 'महिला खेलाडी जुनसुकै मुलुकमा हुने प्रतियोगितामा सहभागी भइरहेका छन्,' उनले भने, 'यो सम्भव हुनुमा खेलाडीको समर्पण र एन्फाको सहयोग दुवैको भूमिका छ ।'
राई गाउँ युवा क्लबका अध्यक्ष छविलाल बम्जनले पहिलोपटक तामाङ समुदायका छोरी–बुहारी सबैलाई सामूहिक रूपमा सम्मान गर्न पाएकोमा गर्व लागेको बताए । गीतकार भरत बम्जनले महिला खेलाडीले मैदानमा गरेको समर्पणलाई प्रशंसा गर्दै भने, 'हामीले सम्मान गर्न सुरु गरेका हौं, तपाईंहरूले खेलमैदानमा मिहिनेत गर्नुहुन्छ । त्यसबाट दर्शकको माया पाउनुहुन्छ । सरकारले अझ बढी प्रोत्साहन दिनुपर्छ, हामीले सम्मानमार्फत त्यो आशा जगाउने प्रयास गरेका हौं ।'
सम्मानित खेलाडीमध्ये रेणुका नगरकोटेले आफूहरूको खेल र योगदानलाई कदर गर्नु नै ठूलो प्रेरणा भएको बताइन् ।
तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले तामाङ छोरी-बुहारी फुटबल खेलाडीलाई सम्मान गर्न पाउँदा छुट्टै आनन्द आएको बताए ।
