इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुलले बर्नमाउथलाई ४–२ ले पराजित गरेको छ ।
काठमाडौँ — खेलको अन्त्यतिर फेडरिको किएसा र मोहमद सलाहले गरेको दुई गोलको मद्दतले लिभरपुलले शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा बर्नमाउथलाई ४–२ ले पराजित गरेको छ । लिभरपुलका लागि एनफिल्डमा प्राप्त यो जित भावनात्मक पनि रह्यो ।
खेलका क्रममा लिभरपुलले गाडी दुर्घटनामा निधन भएका डिएगो जोटालाई भावपूर्ण श्रद्धान्जलि दिएको थियो । यस्तै खेल सुरु हुनुअगाडि एक मिनेटको मौनधारण गरिएको थियो । यता खेलमा ह्युगो एकिटिके र कोडी गाक्पोले लिभरपुलका लागि सुरुमै गोल गरे ।
बर्नमाउथका लागि एन्टोनियो सेमेन्योले दोस्रो हाफमा दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । किएसाले ८८ र सलाहले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे । यस जितसँगै लिभरपुलले ३ अंक बटुलेको छ ।
