अस्ट्रेलियाबाट एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका डी’आरसी सर्टको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको नर्थन टेरिटोरीले मारारा क्रिकेट मैदानमा निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । ओपनर डी’आरसीले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
What you should know
काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टप इन्ड टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै पराजय भोगेको छ । अस्ट्रेलियाको डार्बिनमा शुक्रबार आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४५ रनले पराजित भयो ।
अस्ट्रेलियाबाट एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका डी’आरसी सर्टको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको नर्थन टेरिटोरीले मारारा क्रिकेट मैदानमा निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । ओपनर डी’आरसीले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
उनले ज्याक विथरल्याडसँग मिलेर पहिलो विकेटमा ४ ओभरभित्रै ४१ रन जोडेका थिए । रुपेश सिंहले विथरल्याडलाई आउट गरी यो साझेदारी तोडेका थिए । जे डिकम्यानलाई सन्दीप लामिछानेले शून्यमा बोल्ड गरे । सन्दीपको अर्को ओभरमा डी’आरसीले लगातार चार चौका प्रहार गरे । तर पाँचौं बलमा उनी सन्दीपबाट बोल्ड भए ।
कोनोर क्यारोल १८, जोर्डन सिल्क १९ र क्याडेल म्याकमोहन १२ रनमा आउट भए । टम एन्ड्रयुज २६ बल खेल्दै २ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । नेपालबाट सन्दीपले ४ ओभरमा ३८ रन खर्चेर ३, शाहब आलमले ४ ओभरमा ३२ रन खर्चेर २ तथा रुपेश, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।
जबाफमा नेपालले ८ विकेट गुमाई १ सय ३५ रनमात्र बनाउन सक्यो । मध्यक्रममा गुलशन झाले १० बलमा समान २ चौका र छक्का प्रहार गर्दै २६ रन बनाएपछि मात्र नेपालको स्कोर हेर्नलायकको बन्यो । कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम शून्य रनमा आउट भए ।
रोहितले २१ बलमा २ छक्कासहित २३ रन बनाए । नेपाली टोलीमा पुनरागमन गरेका कुशल मल्लले २६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाए । दीपेन्द्रले २४ बमा १ चौकासहित १९ रनमात्र बनाउन सके । रुपेश ८ रनमा अविजित रहे । नर्थन टेरिटोरीबाट म्याट हामोन्डले ३ र केन रिचर्डसनले २ विकेट लिए । नेपालले शनिबार बंगलादेश ‘ए’ सँग दोस्रो खेल खेल्नेछ ।
