सलहेस र चर्चब्वाइजबीचको फाइनल खेल साउन ३१ गते शनिबार दिउँसो २:३० देखि भानुजन माविको मैदानमा हुनेछ ।
What you should know
ताप्लेजुङ — मधेश प्रदेशको सलहेस युवा क्लब सिरहा र बागमती प्रदेशको चर्चब्वाइज क्लब ललितपुर तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फाइनलमा पुगेका छन् ।
बिहीबारको अन्तिम सेमिफाइनलमा रेडस्टार क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै गतवर्षको उपविजेता सलहेसले यस वर्ष पनि फाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेस र चर्चब्वाइजबीचको फाइनल खेल साउन ३१ गते शनिबार दिउँसो २:३० देखि भानुजन माविको मैदानमा हुनेछ ।
बिहीबारको खेलमा सलहेसका युसुफ मल्लिकले दुवै गोल गरे । उनले पहिलो हाफको १३ औं र दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरेका थिए । खेलको १२ औं मिनेटमा झापाका सुरज कुमालले सलहेसको जाली चुमाएका थिए । तर असिस्टेन्ट रेफ्री जित धिमालले अफसाइडको झन्डा उठाइसकेकाले मुख्य रेफ्री सुमन घिमिरेले गोल दिएनन् । युसुफले काउन्टर मुभ गरे र गोलको खाता खोले । आफ्नै साथीले दिएको ब्याक पास रेडस्टारका गोल किपर दिप कार्कीसँग ठोकिएर फर्कने क्रमलाई उपयोग गर्दै उनै युसुफले दोस्रो गोल गरे । युसुफ एएफसी चितवनबाट खेलेका खेलाडी हुन् ।
गतवर्ष सगरमाथा क्लब मोरङसँग १–० गोलले पराजित हुँदै उपविजेता बनेको सलहेस यसवर्ष चारजना विदेशी खेलाडीका साथ ताप्लेजुङ पुगेको छ । क्वाटरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० र सेमिफाइनलमा रेडस्टारलाई २–० ले पराजित गरेको हो । बुधबारको खेलबाट फाइनलमा स्थान सुरक्षित गरेको चर्चब्वाइजले भने क्वाटरफाइनलमा लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी भारतलाई १–० र बुधबार द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।
बिहीबारको म्यान अफ दी म्याच युसुफ भए । उनले सात हजार रुपैयाँ प्राप्त गरे । उनी आफ्नो टिमको दुवै खेलका म्यान अफ दी म्याच बन्न सफल भएका छन् ।
विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार २ सय ८२ पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले यमाहाको मोटरसाइकल पाउने आयोजकले बताएका छन् । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको क्वाटरफाइनलसम्म दर्शकका लागि एक सय सेमिफाइनलका लागि दुई सय र फाइनलका लागि दुई सय ५० रुपैयाँ टिकट दर रहेको छ ।
