हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
What you should know
काठमाडौँ — अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष)को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछन्, जसअन्तर्गत एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ ।
हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ । सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् । खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गर्ल्स यू १०, यू १३, यू १६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’
कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्युन छ । त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु ।’ प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रुपमा रहेको छ ।
काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो । उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो ।
