पीएसजी यूईएफए सुपरकप च्याम्पियन

नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा उसले युरोपा लिग विजेता टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।

श्रावण २९, २०८२

हिमेश

PSG UEFA Super Cup Champions

काठमाडौँ — युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार यूईएफए सुपरकपको उपाधि जित्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ । नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा उसले युरोपा लिग विजेता टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।

निर्धारित समयको खेल भने २–२ को बराबरीमा रहेको थियो । दुवै अवसरमा पीएसजीले पुर्नआगमन रचेको हो । कुनै पनि फ्रान्सेली क्लबले सुपरकप जितेको यो नै पहिलो पटक हो । यस्तै सन् २०२५ मा पीएसजीले जितेको उपाधि संख्या पाँच पुगेको छ ।

पीएसजी क्लब वर्ल्डकपको फाइनलमा भने चेल्सीसँग पराजित रहेको थियो । इटालीको युडिनेजीमा भएको यसपल्टको खेलमा भने टोटनहम उपाधितर्फ उन्मुख देखिएको थियो । पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले गोल गरेपछि टोटनहम २–० ले अगाडि रहेको थियो ।

त्यसपछि पीएसजीका लागि ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल फर्काए भने इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे । टाइब्रेकरमा भने नुनो मेन्डिजले फ्रान्सेली च्याम्पियनका लागि निर्णायक गोल गरे । नयाँ प्रशिक्षकका रूपमा थोमस फ्रान्क आएयता टोटनहम सुखद सुरुआत लिन असफल रह्यो । 

हिमेश

Link copied successfully