आर्सनल र म्यानचेस्टर सिटी त्यस्ता दुई टिम छन्, जसले लिभरपुललाई चुनौती दिनेछ । चेल्सी र म्यानचेस्टर युनाइटेडसामु भने उत्तरभन्दा पनि बढी प्रश्न छन् ।
What you should know
लन्डन — लिभरपुलले कीर्तिमान २१ पटक इंग्लिस माथिल्लो डिभिजनको उपाधि जित्न शुक्रबार आफ्नो दाबेदारी पेस गर्दै छ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदा लिभरपुल नै उपाधिका लागि बलियो प्रत्याशी रहेको छ । आर्सनल र म्यानचेस्टर सिटी त्यस्ता दुई टिम छन्, जसले लिभरपुललाई चुनौती दिनेछ । चेल्सी र म्यानचेस्टर युनाइटेडसामु भने उत्तरभन्दा पनि बढी प्रश्न छन् ।
फ्रान्सेली समाचार संस्था एएफपीले नयाँ सिजन २०२५–०२६ सुरु हुनलाग्दा त्यस्ता पाँच तथ्य तयार पारेको छ, जुन चर्चाको विषय छ ।
के आर्सनल फेरिन्छ ?
पछिल्लो तीन सिजन आर्सनल लगातार दोस्रो स्थानमा छ । अब आर्सनललाई लाग्न थालेको छ, आफ्नो टिमले लामो समयको प्रतीक्षा तोडेर प्रिमियर लिग जित्न सक्नेछ । प्रशिक्षक मिखेल आर्टेटाको नेतृत्वमा आर्सनलसामु सन् २०२३ र २०२४ मा उपाधि जित्ने अवसर बनेको थियो । गत सिजन त चोटग्रस्त खेलाडीले दुःख दिएपछि आर्सनल १० अंकले पछाडि रह्यो, शीर्षको लिभरपुलभन्दा ।
आर्सनलले सन् २००४ यता लिग जितेको छैन । टोलीले आर्टेटा आएयता जितेको एउटै ठूलो उपाधि भनेको सन् २०२० को एफए कप हो । यसपल्टका लागि भनेर आर्सनलले १८ करोड पाउन्ड खर्चिसकेको छ । आर्टेटा आफैं पनि यसपल्ट टिमको प्रदर्शन राम्रो हुन्छ, त्यसमा विश्वास गर्न भनिरहेका छन् । ‘पछिल्ला केही सिजन हामी निकै नजिक पुगेका थियौं, लिग उपाधिबाट । अहिले हाम्रो टिममा जितको आत्मविश्वास छ,’ आर्टेटा भन्छन् ।
लिभरपुल शीर्षमा
लिभरपुलले आफ्नो पहिलो खेलमा बर्नमाउथको सामना गर्नेछ । खेलमा टिमले त्यस्तो टिम उतार्नेछ, जुन निकै महँगो त छ । यसमाथि ठूलो अपेक्षा पनि हुनेछ । लिभरपुलले पछिल्लो पटक लगातार लिग उपाधि जितेको भनेको सन् १९८२–८३ र १९८३– ८४ मा हो । त्यति बेला लिभरपुलका खेलाडी थिए, केनी डगलस र इयान रस । लिभरपुलले अबका सिजन साँच्चै लिग जित्छ भने उसले म्यानचेस्टर युनाइटेडलाई उछिन्ने छ ।
एनफिल्ड क्लबका लागि इंग्लिस फुटबलको माथिल्लो डिभिजन कीर्तिमान संख्यामा जित्नुको ठूलो अर्थ रहनेछ । यो लक्ष्य मात्र होइन, लिभरपुलको उद्देश्य त युरोपेली च्याम्पियन्स लिगमा पनि उत्तिकै राम्रो प्रदर्शन रहनेछ । त्यसैका लागि प्रशिक्षक आर्ने स्लटले यो सिजन ३४ करोड ३० लाख डलर खर्चिइसकेका छन् । यसक्रममा भित्रिएका छन् फ्लोरिन विर्टज, ह्युगो एकिटिके, जेरेमी फ्रिमपोङ र मिलोस केरकेज ।
डारविन नुनेज र लुइस डियाजले भने यही बेला लिभरपुल छाडेका छन् । त्यसैले लिभरपुलको आक्रमण यसपल्ट फरक स्वरूपमा हुनेछ । सम्भवत यसमा एलेक्जान्डर इसाक थपिने सम्भावना छ । स्लट भन्छन्, ‘पछिल्लो सिजन हामीले बलमाथि अत्याधक नियन्त्रण राखेर खेल्यौं । तर यस्तो स्थितिले जहिले पनि फाइदा हुन्छ भन्ने हुन्न । गत सिजनको तुलनामा अब हामी बढी अवसर सिर्जना गर्ने लक्ष्यमा हुनेछौं ।’
सिटीसामु लामो बाटो
पेप ग्वार्डिओलाले पछिल्लो सिजन एउटै म्यानचेस्टर सिटीको पतनको प्रदर्शनलाई सक्दो रोक्ने काम गरे । जनवरीको ‘विन्डो ट्रान्सफर’ मा ग्वार्डिओलाले टिम नै फेर्ने प्रयास गरेका छन् । यसैक्रममा सिटीले रायन एइट–नुरी, रायन चेरकी, टिजानी रेजिन्डर्स र जेम्स ट्राफोर्ड किनेको छ । केभिन डी ब्रुएना र केली वाल्डकरले क्लब छाडेका छन् भने ज्याक ग्रेलिसले नयाँ गन्तव्यको रूपमा एभरटन रोजेका छन् ।
त्यसैले इतिहाद टिम यसपल्टको लागि फेरिएको छ । सन् २०१७ यता पछिल्लो सिजन सिटीका लागि पहिलो उपाधिविहीन अवधि रह्यो । पछिल्ला ८ सिजनमा सिटीले ६ पल्ट त लिग नै जितेको थियो । टोलीका लागि पछिल्लो सिजन तेस्रो स्थानमा झर्नु खराब प्रदर्शन जत्तिकै थियो । जादुयी खेल प्रदर्शन गर्ने गरेका रोड्रीको अभाव टिमको प्रदर्शनमा अत्यधिक देखिएको छ ।
उत्साही चेल्सी
क्लब वर्ल्डकपको उपाधि लगभग आश्चर्यजनक रूपमा जितेको चेल्सी त्यही बेला समातेको लय अबको प्रिमियर लिगमा दोहोर्याउन चाहन्छ । इन्जो मारेस्कोको टिमले अमेरिकामा भएको प्रतियोगिताको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि सनसनीपूर्ण ३–० को जित रचेको थियो । यस्तोमा प्रश्न बनेको छ, के यो चेल्सीको स्वभाविक प्रदर्शन थियो त ? के यो उत्तिकै साँचो त छ ?
गत सिजन चेल्सीले त्यस्तो टिम उतारेको थियो, जसका खेलाडीको औसत उमेर प्रिमियर लिगका सबै क्लबमध्ये कम छ । त्यो भनेको चेल्सी कान्छा खेलाडीले भरिएको थियो । लिगको यात्रा आफैंमा राम्रो पनि रहेन, तर चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने उपलब्धि नै थियो । कोल पाल्मर, इन्जो फर्नान्डेज जस्ता खेलाडी नयाँ स्टारका रूपमा उदय हुने क्रममा छन् ।
युनाइटेडको पुनरागमन लक्ष्य
सन् १९७३–७४ यता म्यानचेस्टर युनाइटेडको प्रदर्शन पछिल्लो सिजन लिगमा सबैभन्दा खराब रह्यो । त्यसैले क्लब पूरा टिमलाई लगभग नयाँ बनाउने उद्देश्यमा छ र टोलीको इच्छा हो, पहिले जस्तै टिम पुनरागमन रच्ने । रुबेन एमोरिमको युनाइटेड गत सिजन १५ औं स्थानमा रहेको थियो । युरोपा लिगको फाइनलमा अर्को कमजोर प्रदर्शन गरेको टिम टोटनहमसँग १–० ले पराजित रहेको थियो ।
यो हार आफैंमा महँगो रह्यो, किनभने युनाइटेडले युरोपेली च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको थियो । पछिल्लो सिजन साँच्चै लाजमर्दो रह्यो । त्यसैले युनाइटेडले अबको सिजनका लािग भने २० करोड पाउन्ड खर्चेर बेन्जामिन सेस्को, ब्रायन एमबेउमो र म्याथिस कुन्हा किनेको छ । तर मार्कस रसफोर्ड भने बार्सिलोनातिर लागेका छन् अनि केही थप खेलाडीले सम्भवतः ओल्ड ट्राफोर्ड छाड्ने छन् ।
