तेस्रो स्ट्याग ग्लोबल टेबलटेनिस च्याम्पियन्स लिग भदौमा

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Third Stag Global Table Tennis Champions League in August

What you should know

काठमाडौँ — नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशिको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन थ्री भदौको पहिलो साता हुने भएको छ ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो ।

एकेडेमीको आयोजनामा तीन वर्षयता यो प्रतियोगिता हुँदै आएको छ । एकेडेमी नवौं पटककी नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् । घरेलु टेबलटेनिसमा उत्कृष्ट प्रतियोगिताको रूपमा च्याम्पियन्स लिग हुँदै आएको छ ।

भदौ १ देखि ६ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा बुधबार पत्रकार सम्मेलनमा जनाइएअनुसार यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभीएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्चा पुखु खेलकुद समिति गरी कुल १० क्लबले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थल आकर्षक बनाएर प्रतियोगिता गरिने बताइन् ।

टेबलटेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेईका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पुर्‍याइएको छ । लिग विजेताले ३ लाखसहित रनिङ ट्रफी, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो संस्करण एभिएम र दोस्रो संस्करण नेपाल पुलिस क्लबले जितेका थिए । यसपल्ट पुलिस सहभागी छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully