शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार पुरस्कार जिते ।
काठमाडौँ — आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । बिर्तामोड कलेजका मिसन दाहाल दोस्रो तथा सेन्ट जेभियर्सका अभिक शाह तेस्रो भए । दुवैले ६–६ अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा मिसन दोस्रो भए ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार पुरस्कार जिते । पुल्चोक इन्जिनियरिङ कलेजका सुजन काफ्ले, हेराल्ड कलेजका सम्यक श्रेष्ठ, बिर्तामोड कलेजका रिसोन थापाप, सफ्टवारिकाका कुशल बेल्वासे, बीएन एकेडेमीका अविन पाण्डे, सेन्ट जेभियर्सका शुभम श्रेष्ठ र कसिभ कार्की चौथोदेखि दसौं स्थानमा विजयी रहे । चौथोदेखि दसौं हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार ५ सय, ४ हजार, ३५ सय र ३ हजार पुरस्कार पाए ।
महिलातर्फ चाँदबागकी कुसुम घिसिङ पहिलो र ट्रिनिटीकी रिया श्रेष्ठ दोस्रो भए । कुसुमले १० हजार र रियाले ५ हजार पाए ।
विजेतालाई टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना, आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख राजेन्द्र केसीलगायतले पुरस्कृत गरे ।
