पाकिस्तानविरुद्ध ३४ वर्षपछि वेस्ट इन्डिजले जित्यो एकदिवसीय श्रृंखला

तेस्रो तथा अन्तिम खेलमा २९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ९२ रनमै अलआउट भयो, पाँच जना ब्याटरले खाता खोल्न सकेनन्

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

After 34 years, West Indies won the ODI series against Pakistan

What you should know

काठमाडौँ — वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले आफ्नो नाममा पारेको छ । अन्तिम खेलमा पाकिस्तानको प्रदर्शन हेर्न लायक नै रहेन ।

मंगलबार सिरिज मात्रै होइन, पाकिस्तानलाई लज्जास्पद हार चखाएर घर फिर्ता पठाएको छ । वेस्टइन्डिजका लागि यो ऐतिहासिक जित हो । ३४ वर्षपछि एक दिवसीय सिरिजमा पाकिस्तानमाथि जित निकालेको हो । 

ऐतिहासिक जितमा वेस्टइन्डिजले अन्तिम खेल २०२ रन अन्तरले हरायो ।

पाकिस्तान ९२ बलमै अलआउट

त्रिनिदादको ब्रायन लारा स्टेडियममा भएको अन्तिम खेलमा पहिला व्याटिङ गर्दै वेस्टइन्डिजले ६ विकेटको क्षतिमा २९४ रन बनायो । जसमा कप्तान शाई होपले व्यक्तिगत १२० रन बनाए । 

२९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान २९ दशमलव २ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो । 

५ जनाले खाता खोल्न सकेनन् 

वेस्टइन्डिजका बलरसामु पाकिस्तानी ब्याटिङ लाइनले घुँणा टेक्यो । कप्तान मोहम्मद रिजवाद, सईम अयूब, अब्दुल्लाह शफीकसहित पाँच ब्याटरले खातासमेत खोल्न सकेनन् । वेस्टइन्डिजका बलर जोयडेन सील्सले आक्रमण बलिङ गर्दै एक्लै ६ विकेट लिए ।

पहिलो ओभरमै शून्य रनमै सील्सले सईम अयूलाई आउट गरेका उनले तेस्रो ओभरमा अर्का ओपनर अब्दुल्लाह शफीकलाई पनि शून्य मै आउट बनाए । उनले मात्र १८ रन खर्चिएर कूल ६ विकेट लिए । 

यता वेस्टइन्डिजका कप्तान होपले भने कीर्तिमानी पारी खेले । उनले नटआउट १२० रन बनाए । ९४ बल खेलेका उनले त्यसक्रममा १० चौका र ५ छक्का प्रहार गरे । एक दिवसीय करिअरमा १८ औं शतक प्रहार गर्दै उनी सर्वाधिक शतक प्रहार गर्ने वेस्टइन्डिजका खेलाडीहरुको सूचीमा तेस्रो नम्बरमा पुगेका छन् । 

कान्तिपुर

Link copied successfully