ताप्लेजुङ गोल्डकप : सलहेश सेमिफाइनलमा

सलहेशले अब फाइनल प्रवेशका लागि बिहीबार रेडस्टार क्लब झापासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

श्रावण २७, २०८२

आनन्द गौतम

Taplejung Gold Cup: Salhesh in semi-finals

What you should know

ताप्लेजुङ — पाँचथरको फिदिम स्पोर्टिङ क्लबविरुद्ध गोलको वर्षा गर्दै सलहेश युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा सलहेशले फिदिमविरुद्ध ६ गोल गरेको हो ।

पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल खाएको फिदिमले सान्त्वना गोल पनि फर्काउन सकेन । सलहेशले फाइनल प्रवेशका लागि बिहीबार रेडस्टार क्लब झापासँग प्रतिस्पर्धा गर्ने छ ।

मंगलबार भएको खेलमा सलहेशका सदिया आदमले पहिलो हाफको पाँचौं मिनेटमै गोलको खाता खोलेको थिए । सदियाले हानेको गोल पोलमा ठोकिएर भुइँमा झरेको थियो । तत्कालै डिफेन्सले बाहिर फाले पनि गोलले लाइन क्रस गरेकोले रेफ्रीले गोलको निर्णय गरेका थिए ।

३५ औं मिनेटमा सुजित बुढाथोकीले हानेको फ्रि–किक दोस्रो गोलमा परिणत भयो । फिदिमका गोलकिपर असिम खड्काले यसलाई रोक्न सकेनन् । युसुफ मल्लिकले ३७ औं मिनेटमा डिबक्स भित्रैबाट तेस्रो गोल गरेभने ४२ औं मिनेटमा फिदिमका जंगबहादुर खड्काले आत्मघाती गोल गरे । 

दोस्रो हाफको ६६ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो र सलहेशको तर्फबाट पाँचौं गोल गरे । ८० औं मिनेटमा मोहित गुरुङले छैटौं गोल गर्दा प्रतियोगिताका चार क्वाटरफाइनलमा सबैभन्दा बढी गोलको वर्षा भएको खेल बन्यो । संयोग यस्तो पनि थियो गत वर्ष पनि पाँचथर र सलहेशबीच प्रतिस्पर्धा भएको थियो । गत वर्ष भने सलहेश एक गोल मात्रैले सेमिफाइनलमा पुगेको थियो । मंगलबारको म्यान अफ द म्याच युसुफ भए । उनले नगद सात हजार प्राप्त गरे ।

बुधबारको पहिलो सेमिफाइनल खेल चर्चब्वाइज क्लब ललितपुर र द योङ ब्रदर्स क्लब इटहरी सुनसरीबीच हुँदैछ । चर्चब्वाइज लिजेन्ड फुटबल एकेडेमी सिलगुडी भारतलाई १–० ले र द योङ ब्रदर्स आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार दुई सय ८२ रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार राखिएको छ भने विधागत पुरस्कार पनि रहेको छ । फाइनल खेल साउन ३१ गते हुनेछ । सेमिफाइनलदेखि टिकट दर दुई सय रुपैयाँ रहेको आयोजकले बताएका छन् । क्वाटर फाइनलसम्म एक सय रुपैयाँ रहेकोमा सेमिफाइनल दुई सय र फाइनलमा दुई सय ५० रुपैयाँ रहेको आयोजकले बताएका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully