साम्बा म्याक्सीम्याक्सको ब्रान्ड एम्बासडर

राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरिसकेकी साम्बालाई म्याक्सीम्याक्सले ३ वर्षका लागि अनुबन्धित गरेको हो ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Samba Maximax's brand ambassador

What you should know

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ म्याक्सीम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसको ब्रान्ड एम्बासडर बनेकी छन् । राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरिसकेकी साम्बालाई म्याक्सीम्याक्सले ३ वर्षका लागि अनुबन्धित गरेको हो ।

मंगलबार आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौताको आर्थिक पक्ष खुलाइएको छैन । म्याक्सीम्याक्सका प्रबन्ध निर्देशक रोजनप्रसाद दनै र सावित्राले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक दनैले दुवै पक्षको हितका लागि सम्झौता भएको जनाएका छन् ।

‘युवाका लागि सावित्रा प्रेरणादायी व्यक्तित्व हुन्, कठिन मिहिनेत र समपर्णले गर्दा यो स्थितिमा पुगिन्छ भन्ने उदाहरण दिएकी छन्,’ दनैले भने, ‘हामी पनि युवालक्षित कार्यक्रम गर्दै आएकाले साम्बालाई रोजेका हौं । उनीसँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साही छौं ।’

म्याक्सीम्याक्ससँगको सम्बन्धले नयाँ पुस्ताका लागि बाटो खुल्ने सावित्रालाई बताइन् । ‘५–७ वर्ष अगाडिसम्म बाटोमा हिँड्दा क्रिकेट खेलाडीको मात्र होडिङ देख्थें, मलाई पनि यस्तै होडिङ बोर्डमा देखिन मन थियो,’ सावित्राले भनिन्, ‘यो होडिङ बोर्डमा देखिन के गर्नुपर्छ भन्ने पत्ता लगाएर म अझ मिहिनेत गर्दै आज यो स्थितिमा आइपुगेको छु । म युवा खेलाडीलाई प्रेरित गर्ने हेतुले खेलिरहेको छु । यो सम्झौता मेरो नयाँ यात्राको सुरुआत हो ।’

Samba Maximax's brand ambassador

सन् २०१४ को नोभेम्बर १२ मा १८ वर्षको उमेरमा सावित्राले पाकिस्तानको इस्लामाबादमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिरहेकी थिइन् । उनले एपीएफ क्लब हुँदै इन्डियन वुमेन्स लिगमा सेथु एफसी र गोकुलम केरलाबाट खेलिसकेकी छन् । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमेन्स लिगको उपाधि दिलाउँदा १० खेलमा ३१ गोल गरेकी थिइन् । त्यसबाहेक उनले इजरायलको होपोइल रानाना र गत वर्ष फ्रान्सको प्रिमियर लिगमा ग्वेन्गाम्पबाट खेलेकी थिइन् । अव छिटै नै अस्ट्रेलियाको प्रिमियर लिगमा न्युजिल्यान्डको वेलिङ्टन फोनिक्सबाट खेल्दै छिन् ।

म्याक्सीम्याक्सका संस्थापक एवं गायक विवेक श्रेष्ठले सावित्राको माध्यमबाट नेपाली खेलकुद अझ बढ्न सक्ने जनाए । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला खेलाडीका लागि साम्बा प्रेरणाको स्रोत भएको बताए । उनले भने, ‘नेपाली महिला सशक्तीकरणका लागि धेरै संघर्ष गर्नुपरेको छ । यो अभियानका लागि सावित्रा प्रमुख पात्र हुन् । उनले समाज रुपान्तरणमा योगदान दिइरहेकी छन् ।’

नेपाल शैक्षिक परामर्स संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले नेपालमा आदर्श संकट परिरहेको अवस्थामा साम्बाजस्तो उदाहरणीय व्यक्ति थोरै मात्र पाइने बताए । ‘युवाहरूमा सावित्राको उपस्थिति गर्विलो छ, यो सम्झौताले उनलाई अब आर्थिक तनाव हुनु हुँदैन भनेर हामीले यस्तो सम्झौता सुरुआत गरेका थियौं,’ पछिल्ला दुई वर्षमा इक्यानमार्फत विभिन्न खेलका झन्डै २० खेलाडी शैक्षिक परामर्श संस्थामा आबद्ध भइसकेको जनाउँदै भट्टराईले भने । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले यस किसिमको सम्झौता खेलाडीको जीवनमा ठूलो सहयोग मिल्नुका साथै समाजमै परिवर्तन ल्याउने बताए ।  

कान्तिपुर

Link copied successfully