खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक भएका हुन् ।
काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त भएका छन् ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक भएका हुन् । पहिलो संस्करणमा स्पाइकर्सको मुख्य प्रशिक्षक रहेका जगदीश भट्ट प्रतियोगिताको टेक्निकल निर्देशक भएपछि लोकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।
लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रूपमा खेलेका थिए । हाल सोही क्लबमा प्रशिक्षक छन् । उनले राष्ट्रिय टिममा कोचिङ स्टाफको रूपमा काम गरिसकेका छन् ।
उनको प्रशिक्षण अनुभवले टोलीले राम्रो नतिजा हात पार्ने काठमाडौं स्पाइकर्सको विश्वास छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि बुढाले प्राप्त जिम्मेवारी पूरा गर्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की खेलाडी रहेको स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, बाल्मीकि आचार्य, कमला पुन, आसिका क्षेत्री, भुवनेश्वरी चन्द अनुबन्धित छन् । यसअघि अक्सनबाट ‘ए’ क्याटगोरीमा कविता भट्टलाई अनुबन्ध गरे पनि उनी अस्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको टिमले जनाएको छ ।
