टप इन्डलाई अक्टोबरमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया प्यासिफिक छनोटको तयारीको रूपमा पनि लिएको छ । ओमानमा शीर्ष ३ राष्ट्रभित्र परेमा नेपाल लगातार दोस्रो कुल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्नेछ ।
काठमाडौँ — अस्ट्रेलियामा हुने टप इन्ड टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण खेल कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
अगस्ट १४ देखि २४ सम्म डार्बिनमा हुने प्रतियोगितामा भाग लिन नेपाली क्रिकेट टोली सोमबार त्यसतर्फ लागिसकेको छ । टप इन्डलाई अक्टोबरमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया प्यासिफिक छनोटको तयारीको रूपमा पनि लिएको छ । ओमानमा शीर्ष ३ राष्ट्रभित्र परेमा नेपाल लगातार दोस्रो कुल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्नेछ ।
नेपालले डार्बिनमा आयोजक टोली नर्थन टेरिटोरीसँग अगस्ट १५ मा आफ्नो पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ सँग अगस्ट १६ मा, मेलबर्न स्टार्ससँग अगस्ट १८ मा, होबर्ट हरिकन्ससँग अगस्ट १९ मा, मेलबर्न रेनेगेड्ससँग अगस्ट २० मा र पाकिस्तान साहिन्ससँग अगस्ट २२ मा खेल्नेछ ।
कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले अस्ट्रेलियामा हुने टप इन्ड टी–२० क्रिकेट कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण गर्न लागेको बताए । नेपालले खेल्ने दोस्रो खेल भने कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । केसीका अनुसार नेपालभित्र यसको डिजिटल राइट्स पनि आफूहरूसँग रहेकाले कान्तिपुरको विभिन्न प्लेटफर्मबाट यसको स्ट्रिमिङ गरिनेछ ।
यसका लागि कान्तिपुरले मार्केटिङ राइट्स एड रिलिजलाई दिएको छ । त्यसका लागि केएमजीबाट सागर केसी र एड रिलिजबाट निर्देशक आरसी रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरे । कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारीले नेपालले खेल्ने सबै खेल कान्तिपुर टेलिभिजनमा देखाउने आफूहरूको योजना भएको बताए ।
