कान्तिपुरले ईपीएलका खेल ई–कान्तिपुर एप, कान्तिपुर टेलिभिजन एप, कान्तिपुर टिभी डटकम र अब आउन लागेको कान्तिपुर म्याक्सको एपबाट प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
What you should know
काठमाडौँ — कान्तिपुर म्याक्स टेलिभिजनले यो वर्षको इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलका खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल र बर्नमाउथबीच शुक्रबार राति हुने खेलबाट यो सिजनको प्रिमियर लिग सुरु हुँदै छ ।
कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले मंगलबार विश्वको सबैभन्दा लोकप्रिय लिग कान्तिपुरमा प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी गराए । नेपाली टेलिभिजनमा पहिलो पटक प्रिमियर लिगका खेल प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर टेलिभिजनले हालै मात्र इन्डियन प्रिमियर लिग क्रिकेट र विम्बल्डन टेनिसको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
‘कान्तिपुर म्याक्सले खेलकुदमा आफ्नो दायरा बढाउँदै गएको छ, त्यसमा अहिले विश्वको सबैभन्दा ठूलो लिगको प्रत्यक्ष प्रसारण थपिएको छ,’ स्वाँरले भने, ‘ईपीएल कान्तिपुरमा प्रत्यक्ष प्रसारण गर्ने हाम्रो ठूलो सपना थियो । सबै नेपालीलाई हेर्न सहज होस् भनेर ईपीएल कान्तिपुरमा देखाउन लागिएको हो । यसले ईपीएल नेपालमा अझ हेर्न सहज हुने विश्वास लिएका छौं ।’
कान्तिपुरले ईपीएलका खेल ई–कान्तिपुर एप, कान्तिपुर टेलिभिजन एप, कान्तिपुर टिभी डटकम र अब आउन लागेको कान्तिपुर म्याक्सको एपबाट प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । सन् १८८८ देखि इंग्ल्यान्डमा माथिल्लो डिभिजनको फुटबल सुरु भएको थियो । त्यही पहिलो डिभिजनको फुटबलको अहिलेको आधुनिक स्वरूप हो, ईपीएल । सन् १९९२ देखि यो इंग्लिस प्रिमियर लिगको नामले आयोजना भइरहेको छ ।
कान्तिपुर टिभीले प्रिमियर लिग आयोजना गर्न युनिलिभर नेपाल लिमिटेडसँग सम्झौता पनि गरेको छ । कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र युनिलिभरका प्रमुख फाइनान्स अफिसर आयुश शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् । युनिलिभरको क्लियर स्याम्पु कान्तिपुरमा देखाइने प्रिमियर लिगमा प्रमुख प्रायोजकको रूपमा रहनेछ ।
युनिलिभरका प्रबन्ध निर्देशक अल्मान मुखर्जीले क्लियर स्याम्पु महिला विश्वकप फुटबलमा आबद्ध रहेको र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ब्रान्ड एम्बासडर रहेको जानकारी गराए । उनले नेपालमा क्लियर ल्याउन लागेको र ईपीएल कान्तिपुरमा प्रसारण हुन लागेको एकै समय भएकाले दुवै पक्षलाई फाइदा पुगेको जनाए । उनले भारतको जनसंख्याभन्दा बढीले विश्वमा ईपीएल हेर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै एसिया प्यासिफिक क्षेत्रमा यसको लोकप्रियता अझ बढिरहेको जनाए ।
ईपीएल विश्व खेलकुदमा सबैभन्दा बढी हेरिन फुटबल प्रतियोगिता रहेको छ । यसको अनुमानित दर्शकमात्रै ४.७ विलियन रहेको छ । इंग्ल्यान्डभित्र पनि निकै लोकप्रिय छ । पछिल्लो सिजन प्रत्येक खेलको औसत दर्शकसंख्या ४० हजार ४ सय २१ रहेको छ । विश्वका कुनै पनि लिगमा यो जत्तिको दर्शक हुने गर्दैन । खेल हुने लगभग सबै रंगशाला जहिले पनि भरिभराउ हुने गर्दछ । युरोपेली फुटबल महासंघको वरीयतामा पनि ईपीएल नम्बर एक लिग हो ।
लिभरपुल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । लिभरपुलले गत सिजन उपाधि जित्ने क्रममा २० औं पल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजन जितेको थियो । लिभरपुलले प्रिमियर लिग जितेको भने यो दोस्रोपल्ट हो । लिभरपुलसँगै म्यानचेस्टर युनाइटेडले समान २० पल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजन जितेको छ । नेपालमा पनि सबैभन्दा बढी लोकप्रिय र टेलिभिजनबाट प्रत्यक्ष हेर्ने लिगमा ईपीएल नै अगाडि छ । विशेषतः युवापुस्तामा ईपीएल निकै लोकप्रिय छ । नेपालमै पनि लिभरपुलसँगै युनाइटेड, सिटी, आर्सनल, चेल्सी, टोटनहमका आधिकारिक फ्यान क्लबहरू छन् ।
बेलायती दूतावासकी कम्युनिकेसन म्यानेजर प्रेरणा मरासिनीले प्रिमियर लिगको रोमाञ्च नेपाली टेलिभिजनमा पनि ल्याउन सफल भएकोमा कान्तिपुरलाई बधाई दिइन् ।
