हारपछि नेपाल चार अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । तर यो दोस्रो स्थानमा रहने उत्कृष्ट तीन टिममा पर्न पर्याप्त रहेन । छनोटमा कुल आठ समूह रहेकामा दोस्रो स्थानमा रहने टिममध्ये नेपाल सबैभन्दा पुछारमा रह्यो ।
What you should know
काठमाडौँ — नेपाल अर्को वर्ष थाइल्यान्डमा हुने यू–२० वुमेन्स एसियन कपमा छनोट हुन असफल रह्यो । त्यति मात्र होइन, छनोटको अन्तिम खेलमा नेपाल आइतबार उत्तर कोरियाको हातबाट निराशाजनक रूपमा ११–० ले पराजित रह्यो र पीडादायी एकोहोरो नतिजासँग प्रतियोगिता टुंग्याउन बाध्य रह्यो ।
हारपछि नेपाल चार अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । तर यो दोस्रो स्थानमा रहने उत्कृष्ट तीन टिममा पर्न पर्याप्त रहेन । छनोटमा कुल आठ समूह रहेकामा दोस्रो स्थानमा रहने टिममध्ये नेपाल सबैभन्दा पुछारमा रह्यो । उत्तर कोरिया भने तीन खेलबाट अधिकतम ९ अंकसहित समूह विजेता रह्यो र छनोट हुन सफल रह्यो ।
आइतबारकै अर्को खेलमा साउदी अरेबियाले भुटानमाथि २–१ को जित निकाल्यो र समूहको तेस्रो स्थानमा रहन सफल रह्यो । उसको तीन अंक भएको छ । आयोजक भुटान पनि निराशाजनक रूपमा अन्तिम स्थानमा रह्यो । उसले एकै अंक मात्र बटुल्न सक्यो ।
थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको खेलमा यो समूहको तीनपल्टको विश्व र दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरियाले पहिलो हाफमा पाँच गोल गरेको थियो । पूरा अवधिमा आक्रामक रहेको उत्तर कोरियाका लागि हो क्योङले पाँच गोल गरिन् । यस्तै चोए चो–गमले पनि तीन गोल गरिन् ।
उत्तर कोरियाले ८८ मिनेटयता इन्ज्युरी समयमा चार गोल गरेको थियो । उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराएको थियो । यस क्रममा उत्तर कोरियाले तीन खेलमा कुल ३६ गोल गरेको हो ।
नेपालका लागि भने छनोट हुन असफल रहनुको प्रमुख कारण भुटानविरुद्धको १–१ बराबरी रह्यो र अन्त्यमा यसको चर्को मूल्य चुकाउन बाध्य रह्यो । साउदी अरेबियाले भने एक गोलले पछाडि रहेको स्थितिबाट ऐतिहासिक जित निकालेको हो । यो साउदी महिला फुटबलका लागि ऐतिहासिक जित रह्यो । उत्तर कोरियाविरुद्धको खेलपछि नेपाली टिमका प्रशिक्षक यामप्रसाद गुरुङले निराशा पोखे । उनले भने, ‘मलाई आज ११ गोल होला जस्तो लागेको थिएन । हाम्रो उद्देश्य रक्षात्मक खेल्ने र कम गोल खाने भन्ने नै थियो ।’
उनले थपे, ‘हामीले उत्तर कोरियालाई सात गोलमै रोक्नुपर्ने थियो । तर उनीहरूले आज अत्यधिक दबाब बनाएर नै खेले । यसै कारण हाम्रा खेलाडी पनि धेरै थकित बने । हाम्रा खेलाडीले आज सक्दो राम्रो खेलेकै हो । उत्तर कोरिया जत्तिको टिमविरुद्ध खेल्न गाह्रो भएकै हो । हाम्रा खेलाडीले जुन मिहिनेतले खेले, म त्यसको कदर नै गर्छु ।’
