अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुने डब्लूटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कप र विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी निर्णायक बन्नेछन् ।
काठमाडौँ — नेपाली सेनाका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले अस्ट्रेलियामा हुने विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक रहने भएका छन् ।
अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा यही अगस्ट १४ देखि १७ सम्म हुने डब्लूटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कप र विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी निर्णायक बन्नेछन् ।
त्रिभुवन आर्मी क्लबमा आबद्ध उनी २०७१ सालदेखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायक रहिसकेका छन् । नेपाली सेनाबाट डब्लूटीए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी एक्लो हुन् । अहिले ढकाल त्रिभुवन आर्मी क्लबमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन् ।
यसअघि नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुद, माउन्ट एभरेस्टलगायत क्यानडा, चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी उज्बेकिस्तान भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ढकालले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
दुई निर्णायक काजकिस्तानतिर
काजकिस्ताको अस्तानामा हुने काजकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जी १) मा निर्णायकको भूमिका निर्वाह गर्न दुई निर्णायक विक्रम खड्गी र विकेश बिडारीले त्यसतर्फ गएका छन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ । प्रतियोगिता अगस्ट १३ देखि १६ तारिखसम्म हुनेछ ।
