आइतबार वेम्बलीमा हुने कम्युनिटी सिल्डमा लिभरपुलले एफए कप विजेता प्यालेसको चुनौती सामना गर्न लागेको हो । लिभरपुल १७ औं पटक कम्युनिटी सिल्ड जित्न चाहन्छ ।
What you should know
लन्डन — लिभरपुल प्रशिक्षक आर्ने स्लटले कम्युनिटी सिल्डमा क्रिस्टल प्यालेसको सामना गर्दा त्यसमा गर्नुपर्ने कामको चुनौतीमा रमाउने बताएका छन् । इंग्लिस प्रिमियर लिगको च्याम्पियन टिम नयाँ सिजनको सुरुआत उपाधि जितेर गर्न चाहन्छ । यसक्रममा लिग उपाधि रक्षा टोलीको प्रमुख लक्ष्य हुनेछ । गत सिजन लिभरपुलले कीर्तिमानी बराबरी गर्दै २० औं पटक लिग उपाधि जितेको थियो ।
आइतबार वेम्बलीमा हुने कम्युनिटी सिल्डमा लिभरपुलले एफए कप विजेता प्यालेसको चुनौती सामना गर्न लागेको हो । लिभरपुल १७ औं पटक कम्युनिटी सिल्ड जित्न चाहन्छ । त्यसमध्ये टोलीले पछिल्लो सफलता सन् २०२२ मा प्राप्त गरेको थियो । स्लटले शुक्रबार मिडियालाई भने, ‘नयाँ सिजनको सुरुआत उपाधिसँगै गर्दा राम्रो हुन्छ । प्यालेस कडा प्रतिद्वन्द्वी हुने निश्चित छ । एकै खेलमा निर्णय हुने प्रतिस्पर्धा जित्न पनि गाह्रै हुन्छ ।’
उनले प्यालेस अझै पनि उत्तिकै बलियो टिम रहेको छ । टोलीले तेर्स्याउने चुनौती कडा हुनेमा कुनै शंका नरहेको पनि उनले सुनाए । लिभरपुलका लागि पछिल्लो वेम्बली भ्रमण आश्चर्यजनक हारमा टुंगिएको थियो । त्यति बेला लिभरपुल न्युकासल युनाइटेडको हातबाट २–१ ले पराजित भएको थियो । तर स्लट त्यो हारलाई फेरि दोहोर्याएर सम्झन चाहँदैनन् । डच प्रशिक्षक भन्छन्, ‘हामी पछाडि फर्केर हेर्दैनौं ।’
उनी थप्छन्, ‘हामीले जसरी खेल्ने गर्छौं, प्यालेसको खेल पनि त्यस्तै छ । प्यालेसले प्रत्येक फ्रिकिकलाई हाम्रो बक्समा केन्द्रित गर्नेछ । सेट पिसमा प्यालेस जहिल्यै पनि डरलाग्दो हुन्छ । मलाई लाग्छ, खेलमा क्रममा दुवै टिमले ओभरल्यापका लागि पनि प्रयास गर्नेछ । आइतबारको खेलमा एक गोल पनि निर्णायक हुन सक्ने छ ।’ पछिल्लो समय लिभरपुल खेलाडी किनबेचमा खुबै सक्रिय रहेको छ ।
उसले फ्लोर्लिन विर्ट्ज, ह्युगो एकिटिके, जेरेमी फिरपो र मिलोस केरकेजलाई अनुबन्ध गरेको छ । उरुग्वेली फरवार्ड डार्विन नुनेजलाई भने साउदी टिम अल–हिलाललाई बेच्न सहमति गरिसकेको छ । लिभरपुल अझै पनि न्युकासलका एलेक्जान्डर इसाकलाई किन्ने योजनामा कायमै छ । उनले नुनेजको स्थानमा खेल्न सक्नेछन् । इसाकको अझै पनि न्युकासलसँग तीन वर्षको अनुबन्ध बाँकी छ ।
पछिल्लो सिजन इसाकले २३ गोल गरेका थिए । उनी गोल्डेन बुट विजेता मोहम्मद सलाहको ठीक पछाडि परेका थिए । सलाहले भने २९ गोल गरेका थिए । ‘आफ्नै खेलाडी नभएसम्म उनका बारे धेरै कुरा गर्नु ठीक हुन्न । म ह्युगोबारे भने कुरा गर्न सक्छु । क्लबसँग अनुबन्ध गरेयता उनले राम्रो खेलिरहेका छन् । लिभरपुलको अहिले जुन टिम छ, हामी त्यसमा खुसी छौं ।’
उनले अगाडि भने, ‘हामीले पछिल्लो सिजन लिग उपाधि जित्यौं । त्यति बेलाका केही खेलाडीले छाडेका थिए । हामीले केही नयाँ खेलाडी पनि भित्र्याएका छौं । हाम्रा युवा खेलाडीले पनि राम्रो गरिहेका छन् ।’ यसैबीच प्रशिक्षक स्लटले इसाकका लागि बढी मूल्य तोकेर न्युकासलमा प्रस्ताव पठाउने सम्भावनाबारे अस्वीकार गरेनन् । पछिल्लो सिजन स्लटले पहिलो वर्ष नयाँ खेलाडीमा खर्च नै गरेका थिएनन् ।
तर यसपल्ट लिभरपुलले ४० करोड २० लाख डलरभन्दा बढी खर्चिसकेको छ । लिभरपुलले सुरुमा इसाकका लागि ११ करोड पाउन्डको प्रस्ताव राखेको थियो, तर त्यसलाई न्युकासलले स्वीकारेको थिएन । न्युकासल त्यो भन्दा बढी मूल्य चाहन्छ । यसले बेलायती फुटबल स्थानान्तरणमा नयाँ कीर्तिमान बन्ने छ । न्युकासलले पनि अहिलेसम्म प्रि–सिजनका खेलमा इसाकलाई टिममा समावेश गरेको छैन ।
