गत वर्ष पहिलो संस्करणको अक्सनमा १४ मध्ये लक्की ‘ड्र’ मा १२ पटक अभाग्यशाली भएको गोर्खाजले यसपालि अक्सनमा सबैभन्दा बढी प्रतीक्षाको खेलाडी बनेका आदिल पाउन सफल भएको थियो ।
What you should know
काठमाडौँ — आदिल आलम अन्सारी शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा यस्ता खेलाडी थिए, जसलाई सबै ८ फ्रेन्चाइज टोलीले भाउ लगाएको थियो । त्यसमा काठमान्डु गोर्खाज भाग्यमानी बन्दै आदिललाई आफ्नो टोलीमा ल्याउन सफल भयो ।
‘ए’ श्रेणीमा रहेका आदिलको न्युनतम १० लाखबाट भाउ सुरु भएको थियो । सबै ८ टोलीले अधिकतम १५ लाखसम्म भाउ लगाएपछि गोलाप्रथामा आदिललाई गोर्खाजले पाएको थियो । गत वर्ष पहिलो संस्करणको अक्सनमा १४ मध्ये लक्की ‘ड्र’ मा १२ पटक अभाग्यशाली भएको गोर्खाजले यसपालि अक्सनमा सबैभन्दा बढी प्रतीक्षाको खेलाडी बनेका आदिल पाउन सफल भएको थियो ।
गोर्खाजले प्रतिभावान देब्रेहाते स्पिनर सन्तोष यादवसहित आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई पाएको छ । ‘बी’ श्रेणीमा रहेका सन्तोषमाथि अधिकतम १० लाख भाउ लागेपछि गोर्खाज लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स र कर्णाली याक्सलाई उछिन्न सफल भयो । ३ वर्षअघि नेपाल ट्वान्टी–२० लिगमा स्पट फिक्सिङका आरोप लागेका आदिललाई क्यानले अघिल्लो महिनामात्र राष्ट्रिय प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो ।
काठमान्डु गोर्खाजले आफूसँग रहेको ४३ लाखमध्ये ३७ लाख खर्च गरेको थियो । सबैभन्दा बढी खर्च गर्ने टोली चितवन राइनोज रह्यो । टोलीले बचत ५८ मध्ये ३९ लाख खर्च गरेको थियो । टोलीले ‘ए’ श्रेणीबाट देव खनाल र अर्जुन साउदलाई अधिकतम १५ लाख भाउ लगाएर लिएको थियो । अन्य लक्की ‘ड्र’ मा अभाग्यशाली बनेको चितवनले ‘विस लिस्ट’ बाट विपिन रावललाई ५ तथा विपिन आचार्य र रन्जित कुमारलाई समान २ लाखमा उठाएको थियो ।
लुम्बिनीले ३२ लाख खर्च गर्यो । टोलीले दिलीप नाथ र शेर मल्ललाई समान १० लाख, विशाल पटेल र दुर्गेश गुप्तालाई समान ५ लाख तथा आदिल खानलाई २ लाखमा लिएको थियो । कर्णालीले पवन सर्राफलाई १५, युवराज खत्रीलाई १० लाख तथा इमरान शेख र दीपक डुम्रेलाई समान २ लाखमा उठाउँदै २९ लाख खर्च गरेको थियो ।
विराटनगर किंग्सले २७ लाख खर्च गर्दै सूर्य तामाङलाई १०, साहिल पटेल, नारायण जोशी र शंकर रानालाई समान ५ तथा श्रवण किस्कुलाई २ लाख भाउ लगाउँदै लिएको थियो । सुदूरपश्चिम रोयल्सले हेमन्त धामीलाई १० लाख, दीपक बोहरा, मिलन बोहरालाई ५–५ तथा टेकबहादुर रावल र दीपेन्द्र थापालाई २–२ लाख भाउ लगाउँदै कुल २४ लाख खर्च गरेको थियो ।
च्याम्पियन जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै मयन यादवलाई ७ लाख ७५ हजार, आदित्य महता र विकास अग्रीलाई ५–५ लाख तथा सचिन भट्टलाई २ लाखमा उठाएको छ । पोखरा एभेन्जर्सले भने ११ लाखमात्र खर्च गरी अर्जुन कुमाललाई ५ लाखमा तथा अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई जनही २ लाखमा लिएको हो ।
