एनपीएलको मिनी अक्सन आज

गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो ।

श्रावण २४, २०८२

कान्तिपुर संवाददाता

NPL's mini auction today

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार हुने मिनी अक्सनमा खेलाडी लिन ५ टिमबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीव्र प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन् ।

गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो । चितवनले ६३ लाखमात्र खर्च गर्न सकेको थियो । टोलीले गत सिजनको टोलीबाट शरद भेषावकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), रन्जित कुमार (३ लाख) लाई रिलिज गरेका कारण मिनी अक्सनका लागि टोलीले ‘पर्स’ बलियो बनाएको छ । 

शनिबार चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने छ । मिनी अक्सनमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतम ‘ए’ श्रेणीमा रहेका छन् । उनीहरूको भाउ न्युनतम १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १५ लाख हुनेछ । 

तीन वर्षअघि नेपाल ट्वान्टी–२० लिगमा स्पट फिक्सिङका आरोप लागेका आदिललाई क्यानले अघिल्लो महिनामात्र राष्ट्रिय प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो । भेट्रान शरदलाई चितवन, अर्जुन र सूर्यलाई लुम्बिनी, दिलीप र सुनामलाई पोखरा तथा देव खनाललाई कर्णालीले रिलिज गरेको थियो ।

‘बी’ श्रेणीको भाउ ५ लाख रुपैयाँ रहेको छ र अधिकतम १० लाखमा गएर टुंगिने छ । ‘बी’ श्रेणीमा रहेका ३५ खेलाडीमा आकाश त्रिपाठी, आशुतोष घिरोहिया, अनिल खरेल, अर्जुन कुमाल, अविनाश कर्ण, वसन्त खत्री, भुवन कार्की, विपिन रावल, दर्श सोनार, दीपक बोहरा, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, हरिशंकर साह, हेमन्त धामी, खड्कबहादुर बोहरा, कृष्ण कार्की, शंकर राना, मौसम ढकाल, मयन यादव, मिलन बोहरा, नारायण जोशी, प्रदीप ऐरी, पृथु बाँस्कोटा, प्रज्वल थापा, रवीन्द्रजंग शाही, रवि साह, साहिल पटेल, सन्तोष कार्की, रित गौतम, सन्तोष यादव, शेर मल्ल, सुमित महर्जन, युवराज खत्री, विशालविक्रम केसी, निखिलकुमार सिंहलगायत छन् ।

त्यस्तै ‘सी’ श्रेणीमा १ सयभन्दा बढी खेलाडी छन् । नेपाली यू–१९ क्रिकेट टोलीका उपकप्तान अभिषेक तिवारीलगायत अरनिको यादव, दीपक डुम्रे छन् ।

NPL's mini auction today

कान्तिपुर

Link copied successfully