नेपालको सम्भावना कायम

दोस्रो हाफको इन्ज्युरी समय सुरु हुनै लाग्दासम्म गोलरहित बराबरी निश्चित देखिएको थियो । तर, यही बेला वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेकी सुक्रिया मियाँले गोल गरिन् । नेपालको पक्षमा आयो, १–० को जित । 

श्रावण २४, २०८२

कान्तिपुर संवाददाता

Nepal's potential remains

What you should know

काठमाडौँ — तीन अंकमा खुसी । तर प्रदर्शनमा भने खुसी छैन नेपाल । यू–२० एएफसी एयिया कप छनोटमा शुक्रबार नेपालले साउदी अरेबियामाथि हात पारेको जित यस्तै रह्यो ।

 दोस्रो हाफको इन्ज्युरी समय सुरु हुनै लाग्दासम्म गोलरहित बराबरी निश्चित देखिएको थियो । तर, यही बेला वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेकी सुक्रिया मियाँले गोल गरिन् । नेपालको पक्षमा आयो, १–० को जित । 

प्रशिक्षक यामप्रसाद गुरुङले खेलपछि भने, ‘तीन अंकमा खुसी छौं ।’ कारण स्पष्ट छ, यो जितले थाइल्यान्डमा हुने यू–२० एसिया कपमा छनोट हुने सम्भावना कायम राख्यो । छनोटमा कुल ८ समूह छ । त्यसमध्ये प्रत्येक समूहका विजेता स्वतः छनोट हुनेछ । दोस्रो स्थानमा रहने ८ टिममध्ये उत्कृष्ट तीन टिम पनि प्रतियोगितालाई छनोट हुने प्रावधान छ । नेपालको यही सम्भावना कायम रहेको हो । 

यो जितपछि नेपालको २ खेलबाट ४ अंक भएको छ । अब नेपालको तेस्रो तथा अन्तिम खेल शक्तिशाली उत्तर कोरियाविरुद्ध रहेको छ । यो टिम यू–२० उमेर समूहमा तीनपल्टका विश्वकप र दुईपल्टको एसिया कप च्याम्पियन हो । उसले शुक्रबारकै दोस्रो खेलमा भुटानलाई अपेक्षित एकपक्षीय ढंगमा सजिलै १०–० ले हरायो । त्यस अगाडि कोरियाली टिमले साउदी अरेबियालाई पनि १५–० ले पराजित गरेको थियो । 

यस्तोमा भुटान एक अंकमा सीमित रह्यो भने साउदी अरेबिया अहिलेसम्म अंकको खाता खोल्न असफल छ । यस स्थितिमा साउदी अरेबियाको छनोट सम्भावना समाप्त भएको छ भने भुटानको कायम छ । साउदी अरेबियाविरुद्ध नेपालको प्रदर्शन कुनै पनि अर्थमा उत्साहबर्द्धक रहेन । त्यसैले तिनै प्रशिक्षक गुरुङको भनाइ थियो, ‘प्रदर्शनमा खुसी छैन ।’

किन त ? यसको कारण उनको भनाइमा यस्तो रह्यो, ‘हाम्रा खेलाडीले साउदी अरेबियाविरुद्ध यो उमेर समूहमा पहिलो पटक खेलिरहेको थियो, त्यसैले गाह्रो भएको हुनुपर्छ ।’ 

उनले साउदी अरेबियाविरुद्ध उतारेको टिमको सुरुआती सूचीमा पाँच परिवर्तन गरेका थिए । उनकै भाषामा यसको कारण एउटा त उत्तर कोरियाविरुद्धको खेललाई तयार राख्नु हो, अर्को भने नयाँ खेलाडीलाई पनि मौका दिइएको हो ।

कान्तिपुर

Link copied successfully