बिलबाओका पहिलो अश्वेत कप्तान

'च्याम्पियन्स लिगलाई लिएर हामी महत्त्वाकांक्षी पनि छौं, नयाँ युवा खेलाडीको आगमनले हाम्रो टिम बलियो भएको छ, म यहाँ आएयता अहिलेसम्मकै बलियो टिम बनेको छ'

श्रावण २३, २०८२

एपी

Bilbao's first black captain

What you should know

म्याड्रिड — अबको सिजन एथलेटिक बिलबाओका कप्तान हुनेछन्, इनाकी विलियम्स । यसमा उनलाई गर्व छ, किनभने उनी कप्तानी सम्हाल्ने क्लबका पहिलो अश्वेत खेलाडी हुनेछन् । यही बेला उनी भन्छन्, अचेल अति दक्षिणपन्थी विचारधारा राख्नु फेसनजस्तै बनेको छ । खासमा एथलेटिकसँग आबद्ध हुने यी ३१ वर्षीय विलियम्स नै पहिलो पुस्ताका अश्वेत खेलाडीमध्ये एक हुन् । 

ऐतिहासिक रूपमै यो क्लबमा बिरलै मात्र अश्वेत खेलाडी आबद्ध भएका छन् । एथलेटिकका खेलाडी हुन स्पेनको उत्तर बास्क क्षेत्र र त्यस वरपरका खेलाडी हुनु आवश्यक छ । विलियम्स र उनका कान्छो भाइ निकोको जन्म उत्तरी औद्योगिक सहर बिलबाओमा भएको थियो । उनको आमाबुवा पनि घानाका हुन् । उनीहरू उज्ज्वल भविष्यको खोजीमा युरोप आइपुगेका हुन् । 

‘यो तथ्यको धेरै अर्थ छ । मेरो आमाबुवाले ३१ वर्ष अगाडि मलाई बिलबाओ आएर जन्म दिए । म आफूलाई भाग्यमानी मान्छु, किनभने विदेशबाट आएकाको प्रतिनिधित्व गरिरहेको छु । त्यसमाथि बास्क क्षेत्र र स्पेनसँग जोडिनु पनि महत्त्वपूर्ण छ । हामी निकै सामान्य परिवारबाट आएका हौं । यतिभन्दा भन्दै पनि हामीले यति बोल्न पाउनु पनि ठूलै हो, किनभने अचेल अति दक्षिणपन्थी विचार राख्नु पनि फेसनजस्तै भएको छ ।’ 

उनी थप्छन्, ‘हामीले आफ्नो भनाइ राख्नुपर्छ । हामीलाई धेरै बाधा पन्छाएर केहीलाई गलत साबित गरिरहनुपर्छ ।’ विलियम्म दाजुभाइ स्पेनमा अधिकांस समय रंगभेदी व्यवहारको सिकार भइरहन्छन् । दुवैले किशोर उमेरदेखि नै एथलेटिक बिलबाओका लागि खेलिरहेका छन् । पछिल्लो विश्वकपमा विलियम्सले घानाका लागि खेल्ने निर्णय गरे । भाइ निको भने स्पेनकै प्रतिनिधित्व गरेर खेल्छन् । 

Bilbao's first black captainनिकोलाई स्पेनी फुटबलको उदीयमान खेलाडीका रूपमा लिइएको छ । यसपल्ट उनी बार्सिलानो जाने चर्चा पनि चलेको थियो । तर अन्त्यमा उनले एथलेटिकसँग नै थप अनुबन्धमा हस्ताक्षर गरे । उनीहरूका आमाबुवाले स्पेन पुग्न हिँडेर सहाराको यात्रा तय गरेका थिए । मोरक्कोबाट स्पेन पुग्न उनीहरूले सिमानामा तारजाली पनि पार गर्नुपरेको थियो । त्यति बेला दाजु विलियम्स आमाकै गर्वमा थिए । 

त्यसैले विलियम्सले डोहोर्‍याएर भनेका छन्, ‘भाग्य भनेको भाग्य नै हो । भाग्यले नै हामीलाई डोहोर्‍याएर यहाँसम्म पुर्‍याएको थियो । हाम्रा आमाबुवाले त्यो कठिन यात्रा नगरेको भए अहिले हामी यहाँ हुने थिएनौं ।’ पछिल्लो समय स्पेनमा आप्रवासीलाई लिएर बहस चर्किरहेको छ । त्यहाँ अति दक्षिणपन्थी विचार बोक्ने भक्स पार्टी लोकप्रिय साबित भइरहेको छ । चुनावमा पनि यस पार्टीको मत बढेको छ । 

भक्सले स्पेनमा गलत ढंगले आएका सबै आप्रवासीलाई देश निकाला गर्नुपर्छ भनेर पनि माग गरिरहेको छ । अहिले पनि प्रत्येक वर्ष हजारौं अफ्रिकीले स्पेन आइपुग्न कठिन यात्रा तय गर्ने गरेका छन् । यता मैदानतिर भने यसपल्ट यही बास्क क्लब सन् २०१४–०१५ यता पहिलो पटक युरोपेली च्याम्पियन्स लिग खेल्दै छ । ‘हामी जस्ता अधिकांस खेलाडी पहिलो पटक च्याम्पियन्स लिग खेल्दैछौं, त्यसैले हामी खुसी छौं ।’

उनी बिलबाओमा च्याम्पियन्स लिगको धुन फेरि बजेको सुन्न आतुर रहेको मान्छन् । पछिल्लो सिजन एथलेटिक स्पेनी ला लिगाको चौथो स्थानमा रहेको थियो । बार्सिलोना, रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड जस्ता ठूला टिमभन्दा पछि रहेको थियो । विलियम्स भन्छन्, ‘च्याम्पियन्स लिगलाई लिएर हामी महत्त्वकांक्षी पनि छौं । नयाँ युवा खेलाडीको आगमनले हाम्रो टिम बलियो भएको छ । म यहाँ आएयता अहिलेसम्मकै बलियो टिम बनेको छ ।’

एपी

Link copied successfully