घरेलु टोली भुटानले बुधबार समूह ‘ए’ को खेलमा नेपाललाई १–१ को बराबरीमा रोकेको हो ।
What you should know
काठमाडौँ — थिम्पु पुगेयता नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङको भनाइ थियो, ‘नेपाली फुटबल समर्थक निकै संवेदनशील छन्, यसपल्ट हामी उनीहरूको मनमा चोट पुर्याउने छैनौं ।’ तर, यू–२० वुमेन्स एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालको प्रदर्शन समर्थकलाई चोट पुर्याउने खालकै रह्यो ।
घरेलु टोली भुटानले बुधबार समूह ‘ए’ को खेलमा नेपाललाई १–१ को बराबरीमा रोकेको हो ।
यो यस्तो नतिजा रह्यो, जसले नेपालको छनोट हुने सम्भावना असाध्यै कमजोर बनाएको छ । छनोटमा कुल आठ समूह रहेको छ । प्रत्येक समूह विजेताले अर्को वर्ष हुने यू–२० एसियन कप खेल्नेछ । प्रत्येक समूहको दोस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ । नेपालको लक्ष्य त्यही उत्कृष्ट तीन टिमभित्र पर्ने थियो । तर भुटानसँगको बराबरीले त्यो सम्भावना लगभग समाप्त पारेको छ ।
थिम्पुको चाङलिमिथाङ रंगशालामा खेलको दुवै गोल पहिलो हाफमा भएको थियो । यस नतिजासँगै दुवै टिम १–१ अंकमा रहे । यस समूह ‘ए’ मा तीनपल्टको विश्व च्याम्पियन तथा दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरिया शीर्षस्थानमा रहेको छ । उत्तर कोरियाली टिमले बुधबार पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले पराजित गरेको थियो । उत्तर कोरियाको ३ अंक छ भने साउदी अरेबिया अंकविहीन छ ।
दिनको दोस्रो खेलमा नेपालले ४० सेकेन्डमै अग्रता लिएको थियो । सुक्रिया मियाले दिएको क्रसपास सदुपयोग गर्दै सेनु परियारले नेपालका लागि गोल गरिन् । भुटानले १८ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । यो गोल केल्देन वाङ्मोको नाममा रह्यो ।
नेपालले दुई साताअगाडि बंगलादेशमा सम्पन्न साफ यू–२० वुमेन्स च्याम्पियनसिपमा भुटानविरुद्धका दुई खेल सजिलै जितेको थियो । त्यसमध्ये पहिलो खेलमा नेपाल ६–१ ले विजयी रह्यो भने दोस्रोमा ८–० को जित हात परेको थियो । नेपालले भुटानविरुद्ध यसपल्ट त्यस्तै प्रदर्शन दोहोर्याउन सकेन ।
यसपल्ट नेपालको प्रदर्शन धेरै हदसम्म निराशाजनक रह्यो । यतिमात्र होइन, भुटानले तेर्स्याएको दबाब अगाडि नेपाल कुनै पनि बेला पराजित हुन सक्ने सम्भावना रहेको थियो । खेलपछि प्रशिक्षक गुरुङले भुटानको प्रदर्शन राम्रो भएको स्वीकार गरे ।
उनले भने, ‘भुटानले आफ्नो घरेलु मैदानमा राम्रो खेल्यो । अहिलेका टिममा तीन राष्ट्रिय खेलाडी फर्केपछि उनीहरूको मनोबल बलियो देखियो । हाम्रो टिममा केही समस्या रह्यो । समग्रमा भन्दा भुटानले हाम्रो तुलनामा राम्रो खेलेको हो । साफमा ठूलो अन्तरको जितपछि अब बराबरीमा रोकियौं । सायद हामीले भुटानलाई केही हल्का लियौं ।’ नेपालले शुक्रबार हुने खेलमा साउदी अरेबियाको सामना गर्नेछ ।
