खड्काले जी–२ र जी–३ वरीयताका प्रतियोगिता खेलाउने

खड्काले प्रतियोगितामा पुम्से र ग्योरोगी दुवै विधाका खेल खेलाउने छन् ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Khadka will play G-2 and G-3 ranked tournaments

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का अस्ट्रेलियामा हुने विश्व वरीयताप्राप्त चार तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिकामा चयन भएका छन् ।

उनी अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लूटी प्रेसिडेन्ट कप ओसिएना, डब्लूटी प्रेसिडेन्ट कपमा जी–३ को पारा प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपन गरी चार अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बन्नेछन् ।

खड्काले प्रतियोगितामा पुम्से र ग्योरोगी दुवै विधाका खेल खेलाउने छन् । यी चार प्रतियोगिता अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्ड कोस्टस्थित कारा रंगशालामा हुनेछ । यस प्रतियोगितामा खड्का यसअघि पनि निर्णायक रहिसकेका छन् ।

अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता खेलाउनु अघि खड्का मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक रहनेछन् । अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दोमा उनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

त्यसका लागि अशोक शुक्रबार मलेसिया जानेछन् । उनी मलेसियाबाटै अस्ट्रेलिया जानेछन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका खड्काले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिा निर्वाह गरिसकेका छन् । उनी पूर्वराष्ट्रिय तेक्वान्दो खेलाडी पनि हुन् ।

कान्तिपुर

Link copied successfully