समूह जित्ने नेपालको लक्ष्य

नेपाली टोलीका मुख्य प्रशिक्षक याम गुरुङले नेपाली फुटबल समर्थकको मन दुखाउने काम टोलीबाट नहुने बताएका छन् ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Nepal's goal to win the group

काठमाडौँ — नेपाली टिम एएफसी वुमेन्स एसिया कप छनोट यू–२० च्याम्पियनसिपमा बुधबार भुटानको सामना गर्दै विजयी सुरआत लिने प्रयासमा हुनेछ । भुटानको थिम्पुमा हुने छनोटमा नेपाल समूह ‘ए’ मा छ । छनोटमा कुल ४ टिम छन् । बुधबार नै हुने पहिलो खेलमा बलियो टोली उत्तर कोरियाले साउदी अरेबियाको सामना गर्नेछ । 

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक याम गुरुङले नेपाली फुटबल समर्थकको मन दुखाउने काम टोलीबाट नहुने बताएका छन् । उनले भने, ‘नेपाली फुटबल समर्थक निकै संवेदनशील छन्, यसपल्ट हामी उनीहरूको मनमा चोट पुर्‍याउने छैनौं ।’ 

उनले नेपालको उद्देश्य एएफसी वुमेन्स एसिया कप यू–२० मा छनोट नै रहेको बताए । प्रशिक्षक गुरुङले साफ यू–२० को अनुभवले पनि नेपाली टिमलाई अबको प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुगेको बताए । उनका अनुसार छनोटको अनुभव अब काम लाग्नेछ । 

छनोटमा कुल ८ समूह रहेको छ । प्रत्येक समूह विजेता एसिया कपका लागि छनोट हुनेछ । प्रत्येक समूहको दोस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ । 

नेपालकी कप्तान बिर्सना चौधरीले पनि छनोट नै एकमात्र उद्देश्य रहेको बताइन् । उनले भनिन्, ‘कुनै पनि टिमलाई कमजोर मानेका छैनौं । हामी सबै टिमलाई सम्मान गर्छौं । हामी कोहीसँग डराउँदैनौं पनि । हामीले खेल आफ्नो पक्षमा पार्न सक्दो मिहिनेत गरेर खेल्नेछौं । हाम्रो उद्देश्य त समूह जित्ने नै हो । मलाई आफ्ना सबै खेलाडीमाथि पूरा विश्वास छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully