इंग्ल्यान्डको दोस्रो इनिङ्सका अन्तिम ७ विकेट भारतले ६६ रनमात्र खर्चेर लिएको थियो । शृंखलाको अन्तिम टेस्टका अधिकांस सत्रमा भारत विजयी रह्यो ।
What you should know
लन्डन — भारत पाँच टेस्टको शृंखलामा इंग्ल्यान्डलाई २–२ को बराबरीमा रोकेपछि खुसी छ । अब सन्तुष्ट हुँदै घर फर्किनेछ । ओभलको अन्तिम टेस्ट नाटकीय रूपमा ६ रनले जितेपछि भारत शृंखला बराबरी गर्न सफल रहेको हो । घरेलु टिम भने यस टेस्टको अन्त्यतिर एक खाले पतनको सिकार बन्यो । जसले चर्को मूल्य चुकाउन बाध्य रह्यो ।
त्यस अगाडिसम्म भारत शृंखलामा पछाडि थियो । निर्णायक टेस्टमा टोलीलाई जित एकमात्र विकल्प थियो । इंग्ल्यान्डको दोस्रो इनिङ्सका अन्तिम ७ विकेट भारतले ६६ रनमात्र खर्चेर लिएको थियो । शृंखलाको अन्तिम टेस्टका अधिकांस सत्रमा भारत विजयी रह्यो । तर इंग्ल्यान्ड पनि कम्तीको रहेन । निर्णायक सत्रमा प्रभावशाली खेल प्रदर्शन गर्न इंग्ल्यान्ड सफल नै रह्यो भन्दा हुन्छ । यस शृंखलामा निर्णायक भूमिका खेल्ने तीन मुख्य पात्र को को रहे त ? यसैको अब विश्लेषण गर्नेछौं ।
कप्तानी सिक्दै गिल
शुभमन गिलले विश्व क्रिकेटमा सबैभन्दा गाह्रो कामलाई सम्हालेका छन् । आखिरमा भारतीय टिममाथि जहिल्यै पनि एक अर्ब ४० करोड समर्थकको आशा र भरोसा रहने गर्छ । सबैभन्दा ठूलो कप्तानीका रूपमा भारतका लागि डेब्यु गर्दै गिल ब्याटबाट खुबै चम्किए ।
उनी सुनिल गावस्करको नाममा रहेको एउटै शृंखलामा सबैभन्दा बढी रन बनाउने कीर्तिमानबाट केही रनले मात्र चुके । गावस्करले एउटै शृंखलामा ७ सय ७४ रन बनाएका थिए । गिल शृंखलामा भारतकै उत्कृष्ट खेलाडी चुनिए । २५ वर्षे गिलले मे महिनामा अनुभवी रोहित शर्माको स्थान लिएका थिए । उनको टेस्ट क्रिकेटमा औसत ३५ मात्र थियो, यसपल्ट शृंखलामा ७ सय ५४ रन जोडे । त्यसमा तीन शतक सामेल थियो ।
उनी गावस्करले सन् १९७१ मा वेस्ट इन्डिजविरुद्ध बनाएको कीर्तिमानबाट २० रनले पछाडि रहे । गिलको ब्याटिङमा सबैले सुन्दरता र सहजता देखेका छन् । एजबास्टनमा उनको प्रदर्शन उम्दा रह्यो । उनले पहिलो इनिङ्समा २ सय ६९ रन बनाए । त्यसपछि दोस्रो इनिङ्समा अलिकति आक्रामक भएर १ सय ६१ रनको सानदार इनिङ्स खेले । इंग्लिस भूमिमा गिलले ब्याटबाट जसरी प्रदर्शन गरे, धेरै पछिसम्म सम्झनामा राखिनेछ । गिलले कप्तानी र ब्याटिङ दुवैको मज्जा लिए ।
स्टोक्स जादुयी खेलाडी
बेन स्टोक्सले पाँचौं टेस्ट खेलेनन् । उनलाई काँधमा चोट लागेको थियो । तर, इंग्ल्यान्डका लागि उनले जसरी खेले, त्यसले प्रमाणित गरेको छ, टेस्ट क्रिकेटमा उनी जस्ता अलराउन्डरको ठूलै महत्त्व अझ कायम छ । यी इंग्लिस कप्तान ३४ वर्षका भए । उनी अझै पनि इंग्लिस बलिङ आक्रमणका मुख्य खेलाडी हुन् । उनले १ सय ४० ओभर बलिङ गर्दै २५ को औसतले १७ विकेट लिए ।
ब्याटबाट पनि उनको योगदान उम्दा रह्यो । ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले ६ सय ६९ रनको म्याराथन इनिङ्स खेल्दा त्यसमा स्टोक्सले १ सय ४१ रनको योगदान गरेका थिए । भारतविरुद्धको शृंखलामा इंग्लिस बलिङ आक्रमणमा कहीं न कहीं समस्या रहेको प्रस्ट देखिएको थियो ।
त्यसबीच पनि स्टोक्स नै त्यस्ता एकमात्र बलर रहे, जसले खेललाई एकाएक आफूअनुकूल मोड्न सके । आफ्नो खेलजीवनमै उनी चोटबाट बच्न संघर्षरत छन् । अब नोभम्बरमा एसेज शृंखला सुरु हुँदै छ । इंग्ल्यान्ड टिम उनी जत्तिको खेलाडीलाई गुमाउन चाहँदैन । टोलीमा तीव्र गतिका बलर जोफ्रा आर्चर त फर्केका छन्, तर उनले पनि दुई टेस्ट मात्रै खेले ।
धेरै जिम्मेवारी बोक्न सकेनन् । इंग्ल्यान्ड उनलाई पनि जोगाउन चाहन्छ । मार्क उडले चोटकै कारण १२ महिनापछि टेस्ट क्रिकेट खेले । त्यसैले इंग्ल्यान्डलाई स्टोक्स लगातार चाहिन्छ ।
भारतको मुख्य अस्त्र सिराज
आखिरमा मोहम्मद सिराजले प्रमाणित गरे, यी खेलाडी भारतका लागि निर्णायक खेलाडी हुन सक्छन् । ओभलमा पाँचौं दिन बिहानको खेलमा उनले ९ रनमा ३ विकेट लिए । यो नै भारतको जित आधार बन्यो । त्यसैले उनी ‘प्लेयर अफ द म्याच’ पनि रहे । उनले समग्रमा १ सय ९० रनमा ९ विकेट हात पारे । उनले पूरा सिजनमा सबै खेल खेलेर कुल १ सय ८५.३ ओभर बलिङ गरे ।
त्यसबाट उनलाई कुल २३ विकेट प्राप्त भयो । शृंखलाअगाडि नै भारतले भनिसकेको थियो, अर्का स्टार बलर जसप्रित बुमराहले तीन टेस्ट मात्र खेल्नेछन् । भारतले त्यो भनाइ कायम राख्दै अन्तिम टेस्टमा विश्वका शीर्ष बलर बुमराहलाई साँच्चै खेलाउँदै खेलाएन । तर सिराजले उनको अनुपस्थितिको अभाव अनुभव नै गर्न दिएनन् । ‘सोमबार बिहान उठ्दा मलाई लागेको थियो, हामी जित्ने छौं,’ सिराजले पछि भनेका थिए ।
