नेपाली समर्थकलाई मन दुखाउने छैनौँ : प्रशिक्षक गुरुङ

नेपाली टिमका प्रशिक्षक याम गुरुङले एएफसी यू–२० छनोटमा समर्थकको मन दुखाउने काम नहुने बताए। समूहको जित नेपालको मुख्य उद्देश्य हो।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

We will not hurt Nepali supporters: Coach Gurung

काठमाडौँ — नेपालले एएफसी वुमेन्स एसिया कप छनोट यू–२० मा बुधबार भुटानको सामना गर्दैछ । भुटानको थिम्पुमा हुन लागेको छनोटमा नेपाल समूह ‘ए’ मा छ । छनोटमा कुल चार टिम छन् । बुधबार नै हुने पहिलो खेलमा बलियो उत्तर कोरियाले साउदी अरेबियाको सामना गर्नेछ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक याम गुरुङले नेपाली फुटबल समर्थकलाई मन दुखाउने काम नहुने बताएका छन् । उनले भने, ‘नेपाली फुटबल समर्थक निकै संवेदनशील छन् । यसपल्ट हामी उनीहरूको मनमा चोट पुर्‍याउने छैनौँ ।’

उनले नेपालको उद्देश्य एएफसी वुमेन्स एसिया कप यू–२० मा छनोट नै रहेको बताए । छनोटमा कुल आठ समूह रहेका छन् । प्रत्येक समूहको विजेता एसिया कपका लागि छनोट हुनेछ । प्रत्येक समूहको दोस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ ।

कप्तान बिर्सना चौधरीले पनि छनोट नै एक मात्र उद्देश्य रहेको बताइन् । उनले भनिन्, ‘कुनै पनि टिमलाई कमजोर मानेका छैनौँ । हामीले खेल आफ्नो पक्षमा पार्नका लागि सक्दो मिहिनेत गरेर खेल्नेछौँ । हाम्रो उद्देश्य त समूह जित्ने नै रहेको छ ।’ 

कान्तिपुर

Link copied successfully