मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भइसकेका छन् ।
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो । फुटबल खेलाडीको परीक्षण जारी छ । एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण गरिने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जनाएका छन् ।
बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आइसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्चर, शरीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौड्ने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण गरिएको थियो ।
राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपालमै पहिलोपटक यस किसिमको अनुसन्धान केन्द्र स्थापना गरेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा स्थापना गरिएको केन्द्रको असार २४ गते प्रधानमन्त्री केपी शेर्मा ओलीले उद्घाटन गरेका थिए ।
