इंग्ल्यान्ड-भारत टेस्ट रोमाञ्चक स्थितिमा

भारतलाई शृंखला बराबरीमा ल्याउन ४ विकेटको आवश्यकता छ । क्रिस बोक्स घाइते भएको अवस्थामा इंग्ल्यान्डमाथि झन् ठूलो चुनौती रहेको छ । इंग्ल्यान्डले यस टेस्ट जितेमा शृंखला ३–१ ले आफ्नो पक्षमा पार्नेछ ।

श्रावण १९, २०८२

एएफपी

England-India Test in exciting condition

What you should know

लन्डन — जोइ रुट र ह्यारी ब्रुक्सले आइतबार शतक बनाएपछि विशाल लक्ष्यतिर लम्किरहेको इंग्ल्यान्डले भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट रोमाञ्चक स्थितिमा ल्याएको छ । ३ सय ७४ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ओभलमा चौथो दिनको खेल समाप्तिमा ६ विकेट गुमाई ३ सय ३९ रन बनाएको छ । 

खराब प्रकाश र वर्षाका कारण आइतबारको खेल रोकिएपछि नतिजा आउन सकेन । इंग्ल्यान्ड विजयभन्दा ३५ रनले टाढा रहेको छ । भारतलाई शृंखला बराबरीमा ल्याउन ४ विकेटको आवश्यकता छ । क्रिस बोक्स घाइते भएको अवस्थामा इंग्ल्यान्डमाथि झन् ठूलो चुनौती रहेको छ । इंग्ल्यान्डले यस टेस्ट जितेमा शृंखला ३–१ ले आफ्नो पक्षमा पार्नेछ ।

इंग्ल्यान्डले हेडिङलेको पहिलो टेस्टमा पनि ३ सय ७१ रन बनाउँदै ५ विकेटको विजय हात पारेको थियो । सन् २०२२ मा ब्रेन्डन म्याकलम न्युजिल्यान्डको प्रशिक्षक भएर आएयता इंग्ल्यान्डले टेस्ट क्रिकेटमा निकै आक्रामक ब्याटिङ प्रदर्शन गर्दै आएको छ । 

दिनको खेलमा बेन डकेट ५४ र कप्तान ओली पप २७ रनमा आउट भए । डकेटले ८३ बल खेली ६ चौकासहित ५४ रन बनाए । तर ब्रुक्स र रुटले चौथो विकेटमा ३५ ओभरमा १ सय ९५ रनको साझेदारी गरेपछि इंग्ल्यान्डको विजयको सम्भावना देखिएको थियो । ब्रुक्सले ९१ बलमै आफ्नो १० औं टेस्ट शतक पूरा गरेका थिए । तर चिया समयको ठीक अगाडि उनी १ सय ११ रनमा आकाश दीपको बलमा आउट भए । ब्रुक्सले ९८ बल खेली १४ चौका र २ छक्का प्रहार गरे । 

रुटले आफ्नो ३९ औं शतक बनाए । उनले १ सय ५ रन बनाए । टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने सचिन तेन्दुलकरको कीर्तिमानतर्फ अग्रसर भइरहेका रुटले १ सय ५२ बल खेली १२ चौका प्रहार गरे । उनलाई प्रसिद्ध कृष्णले आउट गरे । घाइते कप्तान बेन स्टोक्सको स्थान लिएका ज्याकोब बेथललाई यसअघि कृष्णले नै ५ रनमा आउट गरिसकेका थिए । भारतबाट कृष्णले ३, मोहम्मद सिराजले २ र दीपले १ विकेट लिइसकेका छन् ।

भारतले पहिलो इनिङ्समा २ सय २४ रन मात्र बनाउन सकेको थियो । जवाफमा आएको इंग्ल्यान्डले २ सय ४७ रन बनाएपछि पहिलो इनिङ्सका आधारमा २३ रनको अग्रता बनाएको थियो । ओपनर यशस्भी जैसवालको १ सय १८ रनमा भारतले दोस्रो इनिङ्समा ३ सय ९६ रन बनाएर इंग्ल्यान्डलाई विशाल चुनौती तेर्स्याएको थियो । 

एएफपी

Link copied successfully