साउन २८ गतेदेखि ‘दोस्रो रणउजिरेश्वरी भगवती कप’ भलिबल प्रतियोगिता

प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ देखि १० टिम र महिलातर्फ कम्तीमा ५ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव दीपक चौहानले बताए ।

श्रावण १७, २०८२

माधव अर्याल

'Second Ranujireshwari Bhagwati Cup' volleyball tournament from 28th July

What you should know

पाल्पा — यही साउन २८ गतेदेखि ‘दोस्रो रणउजिरेश्वरी भगवती कप’ क्लबस्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

तानसेनस्थित श्रीनगर भलिबल क्लबको आयोजनामा हुने खुला पुरुष तथा महिला भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका क्लब तथा समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कृष्णबहादुर आलेले बताए ।

श्रीकृष्ण जन्माष्टमी तथा पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती जात्राको अवसरमा हुने प्रतियोगिताको फाइनल खेल भदौ १ गते भगवती जात्राका दिन हुनेछ । क्लबले अघिल्लो वर्षको प्रतियोगितालाई निरन्तरता दिएको हो ।

भलिबल खेलको माध्यमबाट स्थानीय, राष्ट्रियस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष आलेले बताए ।

भलिबल प्रतियोगितामार्फत् स्थानीय युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दै उनीहरुको प्रतिभा उजागार गर्ने र भविष्य तयार पार्ने बताए । खेल पर्यटनको विकास गर्दै महिलालाई पनि भलिबल खेलमा उल्लेख्य सहभागिता गराउने रहेको उनले बताए । 

प्रतियोगिता तानसेनको टुँडिखेलमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ देखि १० टिम र महिलातर्फ कम्तीमा ५ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव दीपक चौहानले बताए । 

प्रतियोगितामा पहिलो हुनेले एक लाख ७५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार, तेस्रो हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुरस्कार ट्रफी, मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन् । 

यस्तै महिला भलिबलतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुरस्कार ट्रफी, मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष आलेले बताए । 

पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको  खर्च अनुमान गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्ला खेलकुद विकास समितिलाई स्थिर ढंगले सञ्चालन गर्न सकियो भने यस्ता प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने बताए । 

सबै स्थानीय तहले खेलकुदको क्षेत्रलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जनले चन्दा संकलनबाटै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्नु हिम्मतिलो कार्य भएको बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully