अलिरेजा फिरोजजालाई २-० सेटले पराजित गरेर कार्लसनले २ लाख ५० हजार डलर (करिब ३ करोड ३३ लाख रुपैयाँ) नगद पुरस्कार हात पारेका छन् । चेसलाई ई-स्पोर्टस विश्वकपमा राख्ने विषय विवादित बनेको थियो ।
What you should know
काठमाडौँ — ई-स्पोर्ट्स विश्वकपमा पहिलो पटक समावेश भएको चेस खेलमा नर्वेका म्याग्नस कार्लसनले उपाधि जितेका छन् । साउदी अरेबियाको रियादमा जारी विश्वकपमा इरानी मूलका फ्रान्सेली चेस ग्रान्ड मास्टर अलिरेजा फिरोजजालाई २-० सेटले पराजित गरेर २ लाख ५० हजार डलर (करिब ३ करोड ३३ लाख रुपैयाँ) नगद पुरस्कार जितेका छन् ।
चेस ई-स्पोर्टस हो कि होइन भन्ने लामो विवादबीच विश्वकपमा समावेश गरिएको यस खेललाई प्रतियोगिताले परम्परागत ढाँचाबाट बाहिर ल्याएर आधुनिक खेलकुद मञ्चमा स्थापित गर्न भूमिका खेलेको कतिपयको टिप्पणी छ । नर्वेका ३४ वर्षीय कार्लसनले प्रतियोगिताभरि आफ्नो अद्भुत नियन्त्रण र समय व्यवस्थापनको कौशल प्रदर्शन गरेका थिए ।
समूह चरणमा अपराजित रहेका कार्लसनले नकआउट चरणमा निहाल सरिनलाई क्वाटरफाइनलमा र सेमिफाइनलमा हिकारु नाकामुरालाई कडा प्रतिस्पर्धापछि हराएका थिए । फाइनलमा फिरोजजाविरुद्ध उनले दुवै सेट ३-१ को समान अन्तरले जिते । प्रतियोगितामा खेलाडीहरू मुटुको ढुकढुकी नाप्ने ‘हार्ट रेट मोनिटर’ पहिरिएर स्टेजमा राखिएका कम्प्युटरमा बसी एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् । उनीहरूसामु दर्शक, प्रायोजक, कमेन्टेटरहरू हुन्छन् ।
परम्परागत चेस प्रतियोगिताहरूको शान्त वातावरणभन्दा ई-स्पोर्टसअन्तर्गको प्रतियोगिता बिलकुलै फरक थियो । चेसलाई आधुनिक बनाउनुपर्ने धारणा राख्दै आएका कार्लसनले यस अनुभवबाट हौसिएका छन् । ‘यो एउटा अद्भुत प्रदर्शन थियो, मैले अहिलेसम्म देखेका कुनै पनि प्रतियोगिताभन्दा फरक,’ उनको प्रतिक्रिया छ, ‘यो साँच्चै आनन्दको कुरा थियो . मलाई आशा छ, यो चेसको भविष्यको ठूलो हिस्सा बन्नेछ ।’
चेसलाई ई-स्पोर्टस विश्वकपमा राख्ने विषयले परम्परागत चेसका प्रशंसक र ई-स्पोर्ट्स समुदायबीच ठूलो बहस सिर्जना गरेको थियो । तर, विश्वभर अनलाइनमा चेस खेल्नेहरू उल्लेख भएको औँल्याउँदै आयोजकहरूले यसलाई विश्वकपमा समावेश गर्न उचित ठहराएका थिए ।
सात हप्तासम्म चल्ने ई-स्पोर्टस विश्वकपमा २५ वटा चर्चित खेलहरूमा प्रतिस्पर्धा हुँदै छ । त्यसमा कल अफ ड्युटी, स्ट्रिट फाइटर, लिग अफ लिजेन्ड्स, पबजी मोबाइल लगायत छन् । पबजीमा नेपालबाट होरा ई-स्पोर्टस फाइनल चरणमा पुगेको छ ।
