अहिले प्रत्येक नागरिकको आफ्नै एउटा फुटबल क्लब हुन थालेको छ, यसले चिनियाा फुटबललाई समुदायसाग जोडिने अवसर पाएको छ ।
What you should know
सुचाउ (एएफपी) — गर्मीको एक दिन सुचाउ सहरमा ४० हजार दर्शक एउटा खेल हेर्न रंगशालामा ओइरिए । त्यसको प्रत्यक्ष प्रसारण हेर्ने उत्तिकै संख्यामा सहरका ठाउँ ठाउँमा रहेको ठूला पर्दामा झुम्मिएका थिए । अहिले चीनमा सबैको चासोको विषय बनेको छ । त्यो हो, गैरव्यावसायिक फुटबल । चिनियाँ व्यावसायिक फुटबल पछिल्लो समय शृंखलाबद्ध भ्रष्टाचारमा लिप्त छ, त्यसैले आम दर्शक त्यसतर्फ रूचि राख्दैनन् ।
यसको ठीक उल्टो त्यहाँको गैरव्यावसायिक लिग फुटबलले सबैको ध्यान खिच्न थालेको छ । यसले एकातर्फ सहर–सहरबीच सकारात्मक फुटबल प्रतिद्वन्द्विता सुरु भएको छ । अर्कोतर्फ घरेलु पर्यटन पनि बढेको छ । सांघाई नजिकको सहर सुचाउमा त्यहाँका स्थानीय क्लबको खेल हेर्न एकै क्षणमा टिकट सबै विकेको थियो । उनीहरू आफ्ना १७ वर्षीय खेलाडी कोउ चेङले याङचोउविरुद्ध गोल गरेपछि साह्रै खुसी भए ।
धेरैले चम्किलो रातो रंगको जर्सी लगाएका थिए । यो सुचाउ सहरसँग जोडिएको छ । अलिकति भए पनि चिसो अनुभव गर्न धेरै दर्शकले कागजको पंखा ल्याएका थिए । ‘अरू प्रतियोगिताका तुलनामा यस गैरव्यावसायिक फुटबलमा धेरैको चासो छ । फुटबल नबुझ्ने पनि यस प्रतियोगितालाई मन पराएका छन्, माहोल पनि रमाइलो छ,’ ३५ वर्षीय छिन चुनयानले भने ।
सामाजिक सन्जालमा भएको प्रत्यक्ष प्रसारणमा लाखौं झुम्मिएका छन् । यसले साना कम नाम चलेका सहर पनि चर्चामा आउन थालेका छन् । यसले खेल हुने बेला सहरमा आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सुरु सुरुमा यस्ता गैरव्यावसायिक लिगमा प्रायोजक साना रेस्टुरेन्ट रहेका छन् । तर बढ्दो लोकप्रियताका कारण अब प्रायोजकका रूपमा अलिबाबा र जेडी डटकम अगाडि आएका छन् ।
यस लिगका एक समर्थकले एपीएफलाई बताएका छन्, यो लिग निकै सामान्य हो र यसमा व्यावसायिक लिगमा जस्तो ठुल्ठूला लगानी केही पनि छैन । वाङ सियाङसोउ सुचाउ फुटबल क्लबका समर्थक हुन् । उनी भन्छन्, ‘यो लिगमा अहिलेसम्म खासै ठूला कर्पोरेट क्षेत्र संलग्न भएका छैनन् । त्यसैले यो विशुद्ध फुटबल नै रहेको छ । अहिलेका लागि जित–हारको पनि खासै अर्थ छैन, शुद्धता नै सबैभन्दा महत्त्वपूर्ण तत्त्व रहेको छ ।’
चीनमा व्यावसायिक फुटबल खेल मिलेमतो र सट्टेबाजीमा बढी केन्द्रित रहने गरेको छ । त्यसमा माथिल्लो डिभिजनको सुपर लिग पनि पर्छ । अन्तर्राष्ट्रिय फुटबलमा पनि चिनियाँ राष्ट्रिय टिमको प्रदर्शन लगातार कमजोर रहेको छ । त्यसैले पनि चीनभित्र यसबारे विशेषतः सामाजिक सञ्जालमार्फत चर्को आलोचना हुने गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले विश्वकप खेल्नुपर्नेमा जोड दिएको धेरैले सम्झने गर्छन् ।
तर फिफा वरीयतामा चीन ९४ औं स्थानमा छ । चीनले अहिलेसम्म एकपल्ट सन् २००२ मा विश्वकप खेलेको थियो । त्यसमा चीन सबै तीनै खेलमा पराजित रह्यो । टिमले यी खेलमा एकै गोल पनि गर्न सकेको थिएन । गैरव्यावसायिक लिगमा भने त्यस्ता खेलाडी बढी छन्, जसको हैसियत कि त विद्यालयका विद्यार्थीको छ या सरकारी कर्मचारीको छ ।
त्यसमा चिनियाँ गाउँ कम्युनिस्ट पार्टीका महासचिव ताइ हु पनि पर्छन् । उनले फुटबल खेल्दाको तस्बिरलाई चिनियाँ समाचार संस्था सिन्ह्वाले पनि प्राथमिकतामा राखेर प्रचारप्रसार गरेको छ । बेइजिङ एकेडेमी अफ सोसियल साइन्सका फुटबल विज्ञ जिन सान भन्छन्, ‘सामुदायिक फुटबलको यो जत्तिको राम्रो उदाहरण अरू हुन सक्दैन । अहिले प्रत्येक नागरिकको आफ्नै एउटा फुटबल क्लब हुन थालेको छ । यसले फुटबललाई समुदायसँग जोडिने अवसर पाएको छ ।’
