ताप्लेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक र इटहरी भिड्ने

साउन २५ देखि सुरु हुने प्रतियोगितामा ८ टिमको सहभागिता, सेमिफाइनल २८ र २९ गते तथा फाइनल ३१ गते हुनेछ।

श्रावण १५, २०८२

आनन्द गौतम

In the opening match of Taplejung Gold Cup, host and Itahari will face each other

What you should know

ताप्लेजुङ —  आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सदरमुकाम फुङलिङमा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक र इटहरीको क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गाले खेल्दैछ भने इटहरीबाट द यङ ब्रदर्स क्लब इटहरी आउँदैछ।

३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा पुगेर आयोजक लाखेजात्रा सञ्चालक समितिले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार साउन २५ गतेको दोस्रो खेल साहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच हुनेछ । पोखरा पहिलो पटक ताप्लेजुङ आउन लागेको हो ।

साउन २६ गते हुने पहिलो चरणको तेस्रो खेलमा भारत सिलगुढीको लेजेन्ड फुटबल एकेडेमी र चर्च ब्वाइज फुटबल क्लब काठमाडौंबीच हुनेछ । पहिलो चरणको अन्तिम खेलमा भने साउन २७ गते मधेश प्रदेशको सलहेश युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस वर्षको प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन् । २८ र २९ गते सेमिफाइनल तथा ३१ गते फाइनल खेल हुनेछ । ३० गते एक दिन विश्रामको समय राखिएको छ । यो दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गर्ने आयोजकले बताएका छन् । खेल तालिका सार्वजनिक गर्न लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन, निवर्तमान अध्यक्ष देवराज गुरुङ, कोषाध्यक्ष दावा शेर्पा, जिल्ला समन्वय समितिका उपप्रमुख, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख पचास हजार बयासी रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ भने विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully