हार नखाने इंग्लिस टिमकी प्रशिक्षक

वेगमनले इंग्लिस फुटबलमात्र होइन, समग्रमै महिला फुटबलकै लोकप्रियता बढाएकी छन् ।

श्रावण १४, २०८२

एएफपी

Undefeated coach of the English team

What you should know

बसेल — यूईएफए वुमेन्स युरो २०२५ को सफलता पछाडिको एउटा कारण निर्णायक रह्यो । यो थियो, ‘विनिङ मेन्टालिटी’ । यो इंग्लिस टिममा प्रशिक्षक सरिना वेगमनलाई जितको सोच भर्ने कामको श्रेय जान्छ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा यी डच प्रशिक्षकसँग अब एक बेजोड प्रशिक्षकको परिचय भएको छ । उनलाई महिला फुटबलको अब्बल प्रशिक्षकभन्दा केही फरक हुने छैन । 

आइतबार भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई हराएको थियो । यसका लागि पुनरागमन जित रच्यो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकर इंग्ल्यान्डको पक्षमा ३–१ ले रह्यो । यससँगै इंग्ल्यान्डले स्पेनमाथि सन् २०२३ को विश्वकप फाइनल हारको बदला पनि लियो । प्रतियोगितामा इंग्ल्यान्डको सुरुआत आफैंमा राम्रो रहेन । 

इंग्ल्यान्ड पहिलो खेलमै फ्रान्ससँग समूह चरणमा पराजित रहेको थियो । क्वाटरफाइनलमा पनि स्विडेनसँग इंग्ल्यान्ड एक समय २–० ले पछाडि थियो । पछि यही खेल इंग्ल्यान्डले टाइब्रेकरमा जित्यो । इटालीविरुद्धको सेमिफाइनलमा पनि इंग्ल्यान्डको बराबरी गोल ९६ औं मिनेटमा सम्भव भएको थियो । अनि एक अर्को पेनाल्टी शुटआउट नजिक हुँदा क्लोली केलीले निर्णायक गोल गरिन् । 

यो सबै पृष्ठभूमिमा उपाधि जितेयता प्रशिक्षक वेगमनको प्रतिक्रिया थियो, ‘हामीले अहिलेसम्म जति प्रतियोगिता खेल्यौं, यो जत्तिको उतारचढावपूर्ण र अनौठो मान्न मिल्ने प्रतियोगिता नै छैन । तर यसको अर्थ हामीसँग विश्वस्तरीय खेलाडी छैनन् भन्ने होइन । एउटा टिमका रूपमा इंग्ल्यान्ड गजब नै छ । हाम्रा खेलाडीलाई आजभोलि लाग्न थालेको छ, परिस्थिति जस्तै भए पनि जित्न सकिन्छ ।’ त्यसको अर्थ इंग्ल्यान्डले हार नै मान्दैन । 

त्यसकी प्रशिक्षक हुन्, वेगमन । कारण जस्तै होस्, वेगमनको इंग्लिस टिम विदेशी भूमिमा उपाधि जित्ने पहिलो टिम बनेको छ । चाहे त्यो पुरुषको होस् वा महिला । प्रतियोगिता सुरु हुनु अगाडि यो टिमको स्थिति पनि आफैंमा राम्रो थिएन । गोलरक्षक म्यारी इर्पस र फ्रान किरबेले संन्यास लिए अनि चेल्सीकी कप्तान मिली ब्राइट प्रतियोगिता खेल्न उपलब्ध नै भइनन् । 

Undefeated coach of the English teamतर वेगमनको टिमको सफलता रचिएको थियो, टिममै लुकेको गहिराइमा । इंग्लिस टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै उत्तिकै बलियो बेञ्च रह्यो । यही बेञ्चले नै इंग्लिस टिमलाई अनेक मोडमा बचाएको थियो । इंग्ल्यान्डसँग स्पेनकी आइताना बोनमती जस्ता उत्कृष्ट खेलाडी भने थिएन । थियो त, एउटा साँच्चिकै उत्कृष्ट प्रशिक्षक । वेगमन आउनु अगाडि इंग्ल्यान्डले जितेको नै के थियो र ? 

उनी सन् २०२१ मा इंग्लिस टिमसँग जोडिएकी थिइन् । त्यसयता इंग्ल्यान्डले लगातार युरो उपाधि मात्र जितेको छैन, विश्वकपको फाइनल यात्रा पनि तय गरेको छ । यो यात्रा आफैंमा सुमधर रहेन, यो चाहिँ सत्य नै हो । ठूला प्रतियोगिताका ९ नकआउट चरणका खेलमध्ये इंग्ल्यान्ड तीन अवसरमा मात्रै ९० मिनेटभित्र विजयी छ । यति भन्दाभन्दै पनि टिममा वेगमनको प्रभाव अत्यधिक देखिन्छ । 

इंग्लिस खेलाडी जसरी उनको प्रशंसा गर्छन्, गुण बखान गर्छन्, त्यसले पनि वेगमन कस्ती छन्, त्यो प्रस्ट हुन्छ । तथ्यांकले पनि वेगमनबारे धेरै बोल्छ । युरो र विश्वकपबीच उनको टिमले लगातार पाँच फाइनल खेलिसकेको छ । सन् २०१७ मा उनको आफ्नै देश नेदरल्यान्ड्सले युरो जित्दा पनि प्रशिक्षक यिनै वेगमन थिइन् । त्यसपछि त हो इंग्ल्यान्डले उनलाई आफूतिर भित्र्याएको । 

फाइनलमा निर्णायक गोल गरेकी केली भन्छिन्, ‘वेगमन कति अब्बल दर्जाकी प्रशिक्षक हुन्, यसको बयान गरेर साध्य छैन । इंग्लिस टिमका लागि उनले कति धेरै गुण लगाएकी छन् भने त्यसका लागि हामी कृतज्ञ हुनुपर्छ । अझ उनले इंग्लिस फुटबललाई मात्र माथि लगेकी होइनन्, उनले त समग्रमै महिला फुटबल अगाडि बढाएकी छन्, त्यो पनि अर्कै स्तरको फुटबल ।’ 

सन् २०२७ मा हुने विश्वकपमा इंग्ल्यान्ड छनोट हुन्छ भन्ने मान्यता राख्ने हो भने स्पेन र ओलम्पिक च्याम्पियन अमेरिकासँगै यही टिम उपाधिका लागि बलियो प्रत्याशी रहनेछ । त्यसैले 

इंग्लिस एफएले चाहनेछ, यी प्रशिक्षक टिममा कायम होस् । किनभने विश्वकप अगाडि उनीसँगको अनुबन्ध सकिँदै छ । त्यसैले पनि इंग्लिस टिमलाई वेगमन जत्तिको प्रशिक्षक आवश्यक पर्ने नै छ । 

अर्कोतर्फ अहिलेको युरो जसरी दर्शक र आमफुटबल प्रेमीमाझ लोकप्रिय रह्यो । यसले देखाउँछ, महिला अन्तर्राष्ट्रिय फुटबल आफैंमा सही दिशातर्फ छ । वेगमन आफैं पनि मान्छिन्, अहिलेको युरोले महिला फुटबलमा ठूलै छाप छोडेको छ । उनी भन्छिन्, ‘महिला फुटबल झन् झन् लोकप्रिय हुँदै छ । यसले महिला फुटबललाई धेरै फाइदा गर्नेछ । यो लोकप्रियता इंग्ल्यान्डबाहिर पनि उत्तिकै बढोस् ।’

एएफपी

Link copied successfully