आठौं रियले लिग साउन २४ देखि हुने

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

The eighth Reale League will be held from July 24

काठमाडौँ — युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रियलेले आयोजना गर्ने रिएले समर लिग फुटबल साउन २४ देखि हुने भएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेल मध्यपुर थिमिस्थित बोडेको रियले ग्राउन्डमा हुनेछ । यस संस्करणमा तीन उमेर समूहमा स्पर्धा हुने आयोजकले जनाएको छ । यू–१०, यू–१२ र यू–१४ उमेर समूह समावेश गरिएको छ ।

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले भाग लिन पाउने छन् । इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट भाग लिन सक्ने आयोजकले जनाएको छ । एफसी रियले जापानको गैरनाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो । क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य राखेको छ ।

यस क्लबको पुरुष टिमले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ । क्लबको महिला टिमले सन् २०२८ मा हुने पहिलो एन्फा महिला लिग छनोटमा भाग लिने तयारी गरिरहेको छ ।

यसले युथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष समर र विन्टर लिग आयोजना गर्दछ ।

समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकालाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाएर लिग गर्छ भने विन्टर लिगमा विभिन्न फुटबल एकेडेमी, विद्यालय र टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ, ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीले यस लिगलाई सहयोग गर्दै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully