बार्सिलोनाकी यी मिडफिल्डरले पछिल्लो दुई वर्ष लगातार बालोन डी’अर जितेकी थिइन्, जुनको अन्त्यतिर भने बिरामी भएपछि उनी अस्पतालको शरणमा पुगेकी थिइन्
What you should know
जुरिच (एएफपी) — वुमेन्स युरो फुटबलको सेमिफाइनलमा स्पेनका लागि निर्णायक गोल गरेकी आइताना बोनमतीलाई सोधिएको थियो, ‘कस्तो लागिरहेको छ ?’
उनको उत्तर थियो, ‘यसबारे त एउटा किताब नै खेल्न सक्छु ।’
जुनको अन्त्यतिर विश्व महिला फुटबलकी सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक अस्पतालको बेडमा सुतिरहेकी थिइन् । तय देखिन्थ्यो, यिनले स्विट्जरल्यान्डमा हुने प्रतियोगिता खेल्न सक्ने छैनन् । अहिले यिनी आइतबार इंग्ल्यान्डविरुद्ध बसेलमा हुने फाइनलको तयारीमा छिन् ।
यो हुनेछ, सन् २०२३ को विश्वकप फाइनलको पुनरावृत्ति । जर्मनीविरुद्धको सेमिफाइनलमा उनले अतिरिक्त समयको पनि अन्त्यतिर प्राप्त १–० जितमा निर्णायक गोल गरेकी हुन् । जुरिचमा भएको सेमिफाइनलमा उत्कृष्ट खेलाडी अवार्ड थाप्दै उनले मिडियासँग मुस्कुराउँदै भनिन्, ‘जति बेला मेरो प्रहार गोलमा परिणत भयो, म खुसीले पागल हुँदै दौडिरहेकी थिएँ । यति ठूलो खेलमा गोल गर्नु जहिल्यै विशेष हुन्छ । यदि मैले आफ्नो टिमलाई जित दिलाउन सकें भने त्यो झन् विशेष हुने भयो नै ।’
बार्सिलोनाकी यी मिडफिल्डरले पछिल्लो दुई वर्ष लगातार बालोन डी’अर जितेकी थिइन् । जुनको अन्त्यतिर भने बिरामी भएपछि उनी अस्पतालको शरणमा पुगेकी थिइन् । विभिन्न खाले परीक्षण पनि निश्चित भयो । उनलाई भाइरल मेनेन्जाइटिसले छोएको रहेछ । त्यसैले जापानविरुद्ध स्पेनको मैत्रीपूर्ण खेल उनले अस्पतालको बेडबाटै हेरिन् । भाइरल मेनेन्जाइटिस आफैंमा गम्भीर रोग भने होइन, तर युरोसम्म उनी सञ्चो भएर तयार हुन नसक्ने सम्भावना भने उत्तिकै बलियो थियो ।
तर, आश्चर्यजनक रूपमा उनी निको भइन् अनि प्रतियोगिताको पहिलो खेल सब्स्टिच्युटका रूपमा खेलिन् । बर्नमा भएको त्यो खेलमा स्पेन ५–० ले विजयी रह्यो । समूह चरणको अन्तिम खेलमा त उनी स्पेनको सुरुआती टिममै परिन्, त्यसमा ३–१ को जित निस्केको थियो । आयोजक देशविरुद्धको क्वाटरफाइनलमा पनि उनले सुरुदेखि खेल्ने अवसर पाइन् । त्यसपछि जर्मनीविरुद्ध त उनले निर्णायक एकमात्र गोल गरिन् । ‘मलाई भाग्यमा विश्वास लाग्दैन,’ पूरा घटनाक्रमलाई लिएर उनी भन्छिन् ।
उनको भनाइ छ, ‘जति पनि काम हुन्छ, त्यो कडा मिहिनेतले हुन्छ, आफ्नै बलियो मानसिक स्थितिले हुन्छ । जसले मलाई गाह्रो परेको बेला समर्थन गरे, म उनीहरूप्रति धन्यवाद भन्न चाहन्छु । साँच्चै बिरामीका बेला केही पनि सजिलो थिएन ।’ बोनमतीको यो छोटो यात्रामा उनले देखाएको साहसमा प्रशिक्षक मान्ट्से टोम पनि दंग छिन् । उनी भन्छिन्, ‘युरोमा उनले सजिलो सुरुआत पाइनन् । तर उनले आफ्नो स्वास्थ्य समस्या भने पार लगाइन् । फिट हुन कडा मिहिनेत गरिन् ।’
स्पेन महिला युरोको फाइनल पुगेको यो नै पहिलो पटक हो । यो उपलब्धि महिला विश्वकप जितेको दुई वर्षपछि हात लागेको थियो । स्पेनले त्यति बेला महिला विश्वकप जितेको पनि पहिलो पटक नै थियो । सिड्नीमा भएको विश्वकप फाइनलमा स्पेनले इंग्ल्यान्डलाई नै हराएको थियो । त्यस अभियानकी एक नायक खेलाडीमा बोनमती आफैं थिइन् । अब स्पेन र बोमनती दुवै पहिलो युरो उपाधि जित्ने सपना बुनिरहेका छन् । फाइनल अगाडि उपाधिको बलियो प्रत्याशी पनि यही ‘ला राजा’ टिम नै हो ।
भलै, इंग्ल्यान्ड युरोको डिफेन्डिङ च्याम्पियन हो । पछिल्लो समय महिला अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टिम एक आपसमा सबैभन्दा ठूला प्रतिद्वन्द्वीको रूपमा अगाडि आइरहेका छन् । सन् २०२३ को महिला विश्वकपमै मात्र होइन, गत वर्ष बर्लिनमा भएको पुरुष युरोको फाइनलमा पनि स्पेनले इंग्ल्यान्डलाई हराएको थियो । पछिल्लो मे महिनामा महिला युरोपेली च्याम्पियन्स लिगको फाइनलमा आर्सनलले बार्सिलोनालाई हराएको थियो । आर्सनलमा अहिलेको इंग्लिस टिमका धेरै सदस्य छन् ।
प्रशिक्षक सरिना वेगमन भइहालिन् । लिस्बनमा भएको त्यो फाइनलमा खेलेका बार्सिलोनाका सात खेलाडी बुधबार जर्मनीविरुद्धको सेमिफाइनलमा पनि थिए । उनीहरूले अझ सुरुदेखि नै खेले । त्यसमध्ये गोलरक्षक काता कोलले अनेक जर्मन आक्रमणलाई निस्तेज पारिन् । अन्त्यमा बोनमतीले नै निर्णायक गोल गरिन् । पछि आफ्ना सहकर्मी गोलरक्षक खेलाडी कोलबारे बोनमतीले भनिन्, ‘कोलले निकै राम्रो खेलिन् । हामीलाई खेलमा गाह्रो र अप्ठ्यारो पर्दा बचाउने काम उनैले गरेकी हुन् ।’
कोलले पनि घाँटीको समस्याका कारण लिग चरणका तीनै खेल खेलिनन् । बोनमती भन्छिन्, ‘हामीमध्ये दुवै खेलाडीले आफूले चाहे जस्तो प्रतियोगितामा सुरुआत गर्न सकेनौं । दुवैलाई स्वास्थ्य समस्या थियो । तर हामी दुवै भाग्यमानी रह्यौं, किनभने अहिले हामी दुवै मज्जाले खेलिरहेका छौं । यसले प्रमाणित गर्छ, जीवनमा कति बेला कस्तो मोड आउँछ, त्यो थाहा नै हुन्न । अन्त्यमा हामी दुवैले खुसीको समाचार सुन्न पायौं ।’
