स्पेनको युरो फाइनल भेट इंग्ल्यान्डसँग

श्रावण ९, २०८२

एएफपी

Spain's Euro final meeting with England

What you should know

जुरिच — आइताना बोनमतीले गरेको एक मात्र गोलबाट विश्व च्याम्पियन स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै बिहीबार वुमेन्स युरो २०२५ को फाइनल यात्रा तय गरेको छ । 

अब उपाधिको भिडन्तमा स्पेनले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डको सामना गर्नेछ । जुरिचमा भएको खेल टाइब्रेकरतर्फ अग्रसर भएका बेला बालोन डी’अर विजेता बोनमतीले १ सय १३ औं मिनेटमा निर्णायक गोल गरिन् । 

पूरा खेल अवधिमा बार्सिलोकी बोनमतीको प्रदर्शन उत्कृष्ट रह्यो । जर्मनीका लागि गोलरक्षक एना बर्गरले पनि उत्कृष्ट प्रदर्शन गरिन् । त्यसै कारण खेल अतिरिक्त समयमा गएको थियो । तर बोनमतीको निर्णायक प्रहारमा उनी चुकिन् । खेलपछि बोनमतीले भनिन्, ‘कहिलेकाहीं गोलरक्षकले पोस्टमा आफ्नो स्वाभाविक स्थान छाड्ने गर्छन् । मैले त्यसैको फाइदा लिएँ । मलाई खेल टाइब्रेकरमा गएको हेर्ने इच्छा थिएन ।’ 

स्पेन पनि आफ्नी गोलरक्षक क्याटा कोलप्रति कृतज्ञ हुनुपर्नेछ । उनले पनि केही उत्कृष्ट बचाउ गरिन् । स्पेनले जर्मनीलाई महिला अन्तर्राष्ट्रिय फुटबलमा हराएको यो नै पहिलो पटक हो । अब जर्मनीले पहिलो पटक युरोको फाइनल पनि खेल्नेछ ।

फाइनल आइतबार बसेलमा हुनेछ । यो सन् २०२३ को विश्वकप फाइनलको पुनरावृत्ति बन्नेछ । त्यसमा स्पेनले इंग्ल्यान्डलाई सिड्नीमा १–० ले नै पराजित गरेको थियो । फाइनलमा मोन्ट्स टोमको टिम विजयी रहेमा स्पेनसामु एकैपल्ट विश्व र युरो च्याम्पियन हुने दुर्लभ अवसर हुनेछ ।

यस्तो अवसर १५ वर्षअगाडि जर्मनीले हात पारेको थियो । फाइनल यात्राका क्रममा स्पेनले आफूलाई अन्तर्राष्ट्रिय महिला फुटबलको सबैभन्दा ठूलो शक्तिमध्ये एक रहेको भने प्रमाणित छ । ‘हामी पहिलो पटक फाइनल पुगेका छौं, त्यसैले नयाँ इतिहास त बनेको नै छ,’ बोनमतीले भनिन् । 

उनले थपिन्, ‘जर्मनीलाई हराएको पनि यो नै पहिलो पटक हो । हामीलाई अहिलेको पुस्ताका स्पेनी खेलाडीमा धेरै गर्व छ । तर हाम्रो यात्रा अझै पूरा भएको छैन । अहिलेका लागि हामी जितमै रमाउन चाहन्छौं । त्यसपछि मात्रै हामी इंग्ल्यान्डविरुद्धको खेलमा केन्द्रित हुनेछौं र आफ्नो तयारी सुरु गर्नेछौं ।’ जर्मनीले युरो २०२२ को फाइनल खेलेको थियो, यसपल्ट यो टिम सेमिफाइनलमै रोकिएको छ । 

जर्मन प्रशिक्षक क्रिस्टिन वेकले भने आफ्ना गोलरक्षक बर्गरको आलोचना गर्न चाहिनन् । उनले उल्टै आफ्ना खेलाडीको प्रशंसा गरिन् । उनले भनिन्, ‘यो हारमा उनले व्यक्तिगत जिम्मेवारी लिनुपर्ने केही पनि छैन । हामीले सेमिफाइनल पुगेको भनेकै उनको प्रदर्शनले हो । हारमा कसैले कसैको आलोचना गर्न पनि आवश्यक छैन । हामीले जसरी खेल्यौं, त्यसमा हामी सबै खुसी छौं ।’

एएफपी

Link copied successfully