राइनोजको लोगो परिवर्तन

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Rhinos logo change

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले पनि आफ्नो लोगोमा केही परिवर्तन गरेको छ । एनपीएल सिजन २ का लागि लोगोमा सानो परिवर्तन गरिएको राइनोजले जनाएको छ । 

गत सिजन लोगोमा ‘चितवन’ शब्दलाई अगाडि राखिएको थियो, जुन सहरको पहिचान केन्द्रित थियो । तर, यसपटक लोगोमा ‘राइनोज’ अर्थात गैंडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । चितवन राइनोजका अध्यक्ष आयुश न्यौपानेले भने, ‘यो एक यस्तो प्रतीक छ, जसले हाम्रो टिमको मर्म र फ्यानको भावना दुवैलाई जोड्छ ।’

यो परिवर्तन केवल डिजाइनमा मात्र नभई, समर्पण र गर्वको झल्को पनि भएको राइनोजको दाबी छ । अबको लोगोमा देखिएको गैंडा, चितवन, नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने समर्थकको प्रतिनिधि बन्ने चितवनको बुझाइ छ । 

‘नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो । मिस्टर गैंडाको लोकप्रियता हाम्रा लागि संकेत थियो, अब फ्यानहरू र गैंडाको पहिचान सँगसँगै लोगो अगाडि रहनेछ । भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ,’ अध्यक्ष न्यौपानेले विज्ञप्तिमार्फत भनेका छन् ।

कान्तिपुर

Link copied successfully