धनकुटाको देउरालीले प्रेसिडेन्ट लिग खेल्ने

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Deurali of Dhankuta will play President League

धनकुटा — भदौमा हुने एन्फा प्रेसिडेन्ट लिग २०२५ मा धनकुटाको देउराली युवा क्लबले कोशी प्रदेशको प्रतिनिधित्व गर्ने भएको छ । 

कोशी प्रिमियर लिग उपविजेतासमेत रहेको देउराली युवा क्लबले प्रतियोगितामा सहभागी हुने जनाएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशबाट टिम सहभागी हुने क्लबका अध्यक्ष उदीप राईले जानकारी दिए । प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

लिगमा धनकुटासहित गाईघाट फुटबल क्लब (उदयपुर), नवजागृति क्लब (बारा), चित्लाङ फुटबल क्लब (काठमाडौं), टाइगर्स टिम टिकाथातल (दोलखा), जनजागृति युवा क्लब (बर्दिया), कार्केबिहार युथ क्लब (सुर्खेत), विजय स्पोर्ट्स क्लब (कैलाली), गण्डकी प्रदेश लिग च्याम्पियन टिम, प्रोग्रेसिभ युथ क्लब (उपविजेता, मधेश प्रदेश) गरी १० टिमको सहभागिता रहनेछ ।

देउराली युवाले राष्ट्रिय लिग च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरेको जनाएको छ । प्रतियोगितामा २३ सदस्यीय टिमले भाग लिने छ । आवश्यक तयारी, खेलाडी व्यवस्थापन, यातायात, आवासका लागि खर्चको अभाव हुने भएकाले आर्थिक सहयोग जुटाउन क्लबले अपिल गरेको छ । क्लबका अनुसार अनुमानित २० लाख खर्च लाग्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully