‘सिनेमा जस्तै नाटकीय जित’

श्रावण ८, २०८२

एएफपी

'A dramatic victory like a movie'

What you should know

जेनेभा — इंग्लिस प्रशिक्षक सरिना विगमनले आफ्नो टिम महिला युरो च्याम्पियनसिपको फाइनल पुगेपछि एकै पटक फरक फरक भावनाबाट गुज्रेको बताएकी छन् ।

 क्लोई केलीले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको सहयोगमा इंग्ल्यान्डले इटालीलाई मंगलबार २–१ ले पराजित गर्दै प्रतियोगिता फाइनलमा तय गरेको हो । एक गोलले पछाडि रहेको स्थितिबाट डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड फाइनल पुगेको छ । 

अब आइतबार हुने उपाधि भिडन्तमा इंग्ल्यान्डले स्पेन वा जर्मनीको सामना गर्नेछ । प्रशिक्षक विगमनले ‘म अहिले राहत महसुस गरिरहेको छु । यही बेला खुसी पनि छु । यो भावनाको मिश्रण हो । मलाई त सिनेमा हेरेजस्तै भइरहेको छ । आफूले जित्ने हो भने यस्तो सिनेमा राम्रै हुन्छ । तर यो धेरै नाटकीय रह्यो ।’

प्रतियोगिताको पहिलो सेमिफाइनलमा इटालीले बारबार बोनान्सीको पहिलो हाफको गोलबाट अग्रता लिएको थियो । इंग्ल्यान्ड प्रतियोगिताबाटै बाहिरिने संघारमा थियो ।

गत साता क्वाटरफाइनलमा स्विडेनविरुद्ध पेनाल्टीमा पुनरागमन रचेको इंग्ल्यान्डका लागि यसपल्ट मिचेल अग्येमाङले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल फर्काइन् । तयसपछि केलीले १ सय १९ औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । उनको सुरुआती पेनाल्टी रोकिएपछि केलीले गोल गरेकी हुन् । इटालीका लागि भने यो हार पीडादायी 

रह्यो । तिनका अधिकांश खेलाडी भावविह्वल देखिए । केलीले पनि खेलपछि प्रतिक्रिया दिँदै सबै परिस्थिति नाटकीय रहेको बताइन् । उनले भनिन्, ‘मलाई अहिले असाध्यै खुसीको अनुभव भइरहेको छ । हाम्रो टिम फाइनलको हकदार पनि छ । म आफैंलाई पनि भाग्यले साथ दियो ।’

इंग्ल्यान्डको महिला टिमले अब लगातार तेस्रोपल्ट ठूलो प्रतियोगिताको फाइनल खेल्नेछ । इंग्ल्यान्डले वेम्बलीमा सम्पन्न फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा हराएर युरो २०२२ को उपाधि जितेको थियो । त्यसपछि अर्को वर्ष विश्वकप फाइनलमा स्पेनको हातबाट पराजय भोगेको थियो । 

इटालीकी प्रशिक्षक आन्द्रे सोनचिनले भने आफ्नो टिमको प्रदर्शनमा गर्व लागेको बताए । उनले भने, ‘यो हारमा पक्कै पनि पीडा छ । तर पूरा टिमले जसरी प्रतियोगितामा खेल्यो र सेमिफाइनलसम्म यात्रा तय गर्न सक्यो, त्यसमा भने गर्व रहनेछ । हामी फाइनलबाट केही सेकेन्ड मात्र टाढा थियौं, तर भाग्यले साथ दिएन ।’

एएफपी

Link copied successfully