काठमाडौँ — क्लोई केलीले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मद्दतले इंग्ल्यान्डले इटालीलाई बुधबार २–१ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को फाइनलमा प्रवेश गरेको छ । एक गोलले पछाडि रहेको स्थितिबाट डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड फाइनल पुगेको हो ।
अब आइतबार हुने उपाधि भिडन्तमा इंग्ल्यान्डले स्पेन अथवा जर्मनीको सामना गर्नेछ । जेनेभामा भएको पहिलो सेमिफाइनलमा इटालीले बारबार बोनान्सीको पहिलो हाफ गोलको मदतले अग्रता लिएको थियो र इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिने संघारमा थियो ।
गत साता क्वाटरफाइनलमा स्विडेनविरुद्ध पेनाल्टीमा पुर्नआगमन रचेको इंग्ल्यान्डका लागि यसपल्ट मिचेली अगयामाङले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल फर्काइन् । तयसपछि केलीले १ सय १९ औं मिनेटमा निर्णायक गोल गरिन् ।
उनको सुरुआती पेनाल्टी रोकिएपछि केलीले गोल गरेकी हुन् । इटालीका लागि भने यो हार पीडादायी रह्यो र तिनका अधिकांस खेलाडी भावविह्वल देखिए ।
