What you should know
काठमाडौँ — हेल्प नेपाल स्पोर्ट्स क्लबले सोमबार माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिग भलिबलमा काजकिस्तानको जायक भिसीमाथि ३–२ को सेटमा सनसनीपूर्ण जित हासिल गरेको छ ।
यो जितपछि हेल्प नेपालको प्रतियोगिताको फाइनल पुग्ने आशा कायमै रहेको छ । मालेस्थित सोसल सेन्टरमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले सुरुआती अग्रता लिएको थियो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । प्रतिद्वन्द्वी जायकले लगातार दुई सेट २५–१८, २५–२३ ले आफ्नो पक्षमा पारेर खेलमा पुनरागमन गरेको थियो ।
नेपाली टोली हेल्प नेपालले पुनरामगन गर्दै चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पारेर खेल २–२ को बराबरीमा गर्यो । निर्णायक तथा पाँचौं सेट १५–११ ले हत्याउँदै हेल्प नेपालले खेल जितेको हो ।
हेल्प नेपालको यो तेस्रो जित हो । ४ खेलमा ३ जित र १ हारसहित ८ अंक जोडेको छ । हारका बावजुत जायक ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । हेल्प नेपालले मंगलबार अन्तिम खेलमा श्रीलंकन क्लब पोर्टस अथोरिटीसँग खेल्नेछ ।
