नेपाललाई ४-० ले हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियन

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Bangladesh beat Nepal 4-0 to become the SAFF U-20 champion

What you should know

काठमाडौँ — घरेलु भूमिमा बंगलादेशले साफ यू–२० वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको छ । अब भन्न करै लाग्छ, उपाधिका लागि यो टिम पूर्ण हकदार छ । ढाकास्थित बसुन्धारा किंग्स एरिनामा सोमबार भएको खेल निर्णायक थियो, त्यसैले त्यो अघोषित फाइनल रह्यो ।

यसमै बंगलादेशले सानदार प्रदर्शन गर्दै नेपाललाई ४–० ले पराजित गर्‍यो । अझ यसलाई ‘सागोरिका ४–० नेपाल’ भन्दा पनि हुनेछ । 

प्रतियोगिता धेरै अर्थमा नेपालका लागि निराशाजनक रह्यो । किनभने बंगलादेशविरुद्धको दुवै खेलमा नेपाली टोली पराजित रह्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो । नेपालका लागि खुसीको उपलब्धि के रह्यो भने भविष्यलाई केही यस्ता खेलाडी तयार भएका छन्, जसले नेपाली महिला राष्ट्रिय टिमको स्थान लिन सक्नेछ । 

पूर्णिमा राई प्रतियोगिताकै सर्वाधिक गोलकर्ता रहिन् । उनले १० गोल गरिन् । उपाधि जित्नका लागि नेपाललाई प्रतियोगिताको अन्तिम खेल तथा अघोषित फाइनलमा बंगलादेशमाथि निश्चित जित आवश्यक थियो । तर बंगलादेशले यस्तो कुनै अवसर नै छाडेन । धेरै अर्थमा टोली व्यावसासिक खेल प्रदर्शन गर्न सफल रह्यो । बंगलादेशको प्रभावशाली जितमा सागोरिका नायिका रहिन् । उनले ह्याट्रिकसहित चार गोल गरिन् । 

उनी तीन खेलको प्रतिबन्धपछि टिममा फर्केकी थिइन् । उनले आफ्नो उपयोगिता साबित गरिन् । बंगलादेशी राष्ट्रिय टिमकी सदस्य रहेकी सागोरिकाले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरिन् । प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक रह्यो । उनी नै प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भइन् । यो नतिजापछि बंगलादेश सबै ६ खेलमा विजयी रह्यो । १८ अंक बटुलेर शीर्षस्थानमा रहँदै च्याम्पियन बन्न सफल भयो । 

Bangladesh beat Nepal 4-0 to become the SAFF U-20 championनेपालविरुद्ध सागोरिकाले गोल गरेपछि खुसी साट्दै बंगलादेशी खेलाडी ।  तस्बिर : साफ 

नेपाल भने १२ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो । भुटान र श्रीलंकामाथि भने नेपाल सजिलै विजयी रहेको थियो । प्रतियोगितामा भुटानको ६ अंक हुँदा श्रीलंका अंकविहीन बन्यो । 

भुटानले दिनको पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो । भुटानले प्राप्त गरेको दुवै जित श्रीलंकाविरुद्ध थियो । यता बंगलादेश भने दक्षिण एसियाली महिला फुटबलको यो उमेर समूहको प्रतियोगितामा पाँचौंपल्ट विजेता बन्न सफल भयो । 

सागोरिकाले आठौं मिनेटमा नेपाली गोलरक्षक सुजाता तामाङ अगाडि बढेको अवसर छोपेर कुनै अवसर नदिई गोलको खाता खोलिन् । पूर्णिमाले १९ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्केको थियो । यो नै नेपालले सिर्जना गरेको सबैभन्दा राम्रो अवसर थियो । खेलले ५१ औं मिनेट छुँदा सागोरिकाले दोस्रो गोल थपिन् । यसका लागि उनले उमला मर्माको पासलाई सुन्दर ढंगले ‘टर्न’ गरेकी थिइन् । 

त्यसको सात मिनेटपछि सागोरिकाले ह्याट्रिक पूरा गरिन् । त्यसका लागि उनले जोयनोब बीबी रीताको लामो पास मीठो ढंगले सदुपयोग गरिन् । खेल सकिन १३ मिनेट अगाडि सागोरिकाले चौथो गोलको औपचारिकता पनि पूरा गरिन् । उनले मुन्की अख्तरको पासमा उक्त गोल गरेकी थिइन् । उनले प्रतियोगितामा कुल ८ गोल गरिन् र आफूलाई बंगलादेशी फुटबलको ‘गोल्डेन गर्ल’ साबित गरिन् । 

सागोरिकाको खेलपछि प्रतिक्रिया रह्यो, ‘बंगलादेशी फुटबल अगाडि बढ्ने हो भने यस्तै प्रदर्शन आवश्यक हुन्छ । म तीन खेल मात्र खेलेर पनि प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएकीमा धेरै खुसी छु ।’ अर्कोतर्फ नेपालकी पूर्णिमाले आफू उच्च गोलकर्ता रहे पनि टिमको हारमा दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘यो प्रतियोगिता हाम्रा लागि ठूलो शिक्षा बन्यो । अबको दिनमा अझ राम्रो खेल्ने र बलियो भएर प्रस्तुत हुने प्रयास गर्नेछौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully