पब्जी ‘ई-स्पोर्ट्स  विश्वकप’मा नेपालले भाग लिँदै

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Nepal participating in PUBG 'E-Sports World Cup'

What you should know

काठमाडौँ — नेपालको ‘टिम होरा ई-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल ई-स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । 

यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको ई-स्पोर्ट्स संघ नेपाल (इसान)ले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिएको हो ।

संघका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । 

सदस्य सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

पब्जी टोलीमा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् । 

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा विश्वकपमा छनोट भएको थियो ।

कान्तिपुर

Link copied successfully