जित्नु ठूलो कि अनुभव ?

अघोषित फाइनल खेलमा बंगलादेशमाथि नेपाललाई जित्नैपर्ने दबाब

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Is it a great experience to win?

What you should know

काठमाडौँ — त्यो अन्तिम क्षणको गोल नभएको भए के हुन्थ्यो होला ? पछिसम्म पनि यो प्रश्न उठिरहनेछ । साफ यू–२० साफ च्याम्पिनयसिपको ‘ड्र’ निस्कनेबित्तिकै तय भइसकेको थियो, उपाधिका लागि भिड्ने आयोजक बंगलादेश र नेपाल नै हुन् । भयो यस्तै नै, अपेक्षाअनुसार । 

डबल राउन्ड रोबिनका आधारमा चार टिमबीच चलेको प्रतियोगिताको सोमबार अन्तिम दिन । बसुन्धरा किंग्स एरेनाको ग्राउन्ड–२ मा हुने खेलमा सबैभन्दा पहिले भुटान र श्रीलंका भिड्ने छन् । यो हुनेछ, प्रतिष्ठाको खेल । दोस्रो खेलमा बंगलादेश र नेपाल खेल्नेछन् र यसले निर्णय गर्नेछ, उपाधि जित्ने टिम कुन हो । 

अहिलेसम्मको समीकरणले भन्छ, बंगलादेशलाई बराबरीको नतिजा नै पर्याप्त छ । जिते त अझ राम्रो । नेपालका लागि भने उपाधि जित्न निश्चित जित नै आवश्यक हुन्छ । यो सबैको कारण हो, त्यही अन्तिम क्षणको गोल । नेपालले बंगलादेशको सामना प्रतियोगिताको दोस्रो दिन नै गरेको थियो । 

त्यसमा बंगलादेशले सुरुमै दुई गोल गर्‍यो । नेपालले त्यसपछि सानदार पुनरागमन रच्दै दुई गोल फर्कायो । खेल यही स्कोरमा टुंगिनुपर्ने हो । तर श्रीमोती तृष्णा रानीले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा बंगलादेशका लागि तेस्रो गोल गरे । लगत्तै खेल सकियो र नेपाली खेलाडी विस्मात् मान्दै मैदानमै ढले । 

नेपाल हार्दाको दुःख जत्तिनै भए पनि यो यस्तो खेल रह्यो, जसले खेलाडीलाई परिपक्व बनाउँछ । ठूला खेलका लागि मानसिक रूपमा तयार पार्न मदत गर्छ । के यस्तै भएको छ होला त ? नेपाली टिमका प्रशिक्षक याम गुरुङले यस्तै मानेका छन् र भनेका छन्, ‘यो खेलमा भएको गल्ती सच्चाएर हामी मैदानमा उत्रनेछौं ।’

अन्तिम दिनको खेल अगाडि बंगलादेशको १५ अंक छ भने नेपालको १२ । गोल अन्तरमा भने नेपाल धेरै अगाडि छ । नेपालले ३० गोल गरेको छ भने चारै गोल मात्र खाएको छ । बंगलादेशले पनि समान चारै गोल मात्र खाएको हो, तर २४ गोल मात्र गरेको छ । दुई टिमबीचको पहिलो खेलमा एकै गोल अन्तर मात्र छ । त्यसैले पनि नेपालको जितको अर्थमा यही गोल अन्तर निर्णायक हुनेछ ।

बंगलादेशी टिमका प्रशिक्षक हुन्, पिटर बटलर । उनले यसपल्ट राष्ट्रिय टिम मात्र होइनन्, उमेर समूहको यो टिम पनि हेरिरहेका छन् । उनले भने यो प्रतियोगिता कसले जित्ने हो, त्यसमा पटक्कै ध्यान दिएका छन् । कम्तीमा उनको दाबी यस्तै छ । उनलाई चाहिएको हो, यो प्रतियोगिताले उनका खेलाडीलाई परिपक्व बनाओस् र भविष्यमा राष्ट्रिय टिमका लागि तयार पारोस् ।

यस्तै लक्ष्य नेपालको छ कि छैन ? यसबारे प्रशिक्षक गुरुङले बोलेका छैनन् । उनी उपाधि जित्न भने प्रेरित देखिन्छन् र यसकै लागि मिहिनेत गरेर खेल्ने आसय पोख्छन् । बटलरले भने जस्तै अधिकांश समय उमेर समूहको प्रतियोगिता कसले जित्ने त्यसको धेरै अर्थ हुन्न । धेरे अर्थ हुने चाहिँ त्यसले कसरी खेलाडीलाई अगाडि बढाउन मदत गर्छ भन्ने नै हो । जित्नु ठूलो कि अनुभव ?

अघोषित यो फाइनल खेलमा यी दुई फरक धारणाले पनि प्रतिनिधित्व गरिरहेका हुनेछ । सबैलाई थाहा छ, अबको केही समयमा नेपाली राष्ट्रिय टिमका केही खास खास खेलाडीले बिदाइ लिनेछन् । अहिले नै डर छ, कतै तिनको स्थान लिने खेलाडी भएन् भने ? धन्न, अहिलेको यू–२० टिमका केही खेलाडीले धेरै आस देखाएका छन् । अन्तिम खेलको नतिजा जस्तै होस्, यति तथ्यमा नेपाली फुटबलसँग राहत महसुस गर्ने ठाउँ भने छ । 

कान्तिपुर संवाददाता

Link copied successfully