डेभिस कप रेलिगेसनमा नेपाल

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Nepal in Davis Cup relegation

What you should know

काठमाडौँ — नेपाली पुरुष टेनिस टिम डेभिस कप टेनिसको रेलिगेसनमा परेको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले एउटै खेल जित्न नसकेपछि रेलिगेसनमा धकेलिएको हो । नेपालले एसिया/ओसिनिया क्षेत्रको समूह ४ मा प्रतिस्पर्धा गरेको थियो । 

शनिबार रेलिगेसन प्लेअफमा नेपाल कुवेतसँग २–० ले पराजित भएको थियो । यो खेल जितेको भए नेपाल समूह ४ मा यथावत् रहन सक्थ्यो । गत वर्ष नेपालले सानदार प्रदर्शन गर्दै समूह ‘५’ बाट ऐतिहासिक बढुवा पाएको थियो ।

क्वालालम्पुरस्थित नेसनल टेनिस सेन्टरमा शनिबार पहिलो खेलमा नेपालका प्रणव मानन्धर कुवेतका बदर अब्दुल्लाहसँग ७–५, ६–० ले पराजित भए । त्यस्तै नेपालका नम्बर एक खेलाडी प्रदीप खड्काले कुवेतका इसा क्वाजार्डविरुद्धको खेल ६–१, ६–२ ले गुमाएका थिए ।

नेपालले लगातार दुई खेल गुमाएपछि डबल्सको खेल खेल्नुपरेन । कुवेतले रेलिगेसन बचाएको छ भने आयोजक मलेसिया र फिलिपिन्स बढुवा भएको छ । शनिबार प्रमोसन प्लेअफमा मलेसियाले कतारलाई २–० र फिलिपिन्सले किर्गिस्तानलाई २–० ले नै पराजित गरेको थियो । फिलिपिन्स गत वर्ष नेपालसँगै बढुवा भएको टिम हो ।

जुलाई १६ देखि सुरु डेभिस कपमा नेपालबाट प्रदीप, प्रणवसहित निशान श्रेष्ठ र आयुशमान घलेले भाग लिएका छन् । प्रशिक्षकमा जितेन्द्र परियार थिए । समूह ४ मा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिनिया, कतार, इराक र फिलिपिन्सले दुई समूहमा रहेर प्रतिस्पर्धा गरेको थियो । 

नेपाल समूह ‘ए’ मा मलेसिया, किर्गिस्तान र इराकसँग परेको थियो । समूह चरणमा पनि नेपालले एउटै खेल जित्न सकेन । तीनै टिमसँग समान ३–० ले पराजित भएको थियो । मलेसियासँगको खेल सहजै गुमाएको नेपाली खेलाडीले किर्तिस्तानविरुद्ध भने प्रणव र प्रदीपले सिंगलमा १–१ सेट जित्नुका साथै डबल्समा आयुशमान र प्रवणको जोडीले पनि एक सेट आफ्नो पक्षमा पारेको थियो । 

इराकविरुद्ध निशान र प्रणवले सिंगलमा प्रतिद्वन्द्वीविरुद्ध कडा टक्कर दिए पनि खेल जित्न सकेनन् । डबल्समा प्रदीप र आयुशमानको जोडीले इराकका अल साम्मरी र अल हतेम घरैरीसँग तीन सेट प्रतिस्पर्धा गरेको थियो । पहिलो दुई सेट टाइब्रेकरमा पुग्यो । अन्ततः नेपाली खेलाडीले ७–६ (८/६), ६–७ (२/७), ६–० ले खेल गुमाए ।

टेनिसको विश्वकप मानिने डेभिस कपमा नेपालले तेस्रो पटक सहभागिता जनाएको हो । तीनै पटक खेल्ने प्रदीपमात्र हुन् । आयुश र निशानको पहिलो सहभागिता रहँदा प्रणवले गत वर्ष पनि खेलेका थिए । प्रदीपले गत वर्ष भने तीन खेल जितेका थिए ।

अघिल्लो दुई संस्करणमा उत्कृष्ट प्रदर्शन दिएका प्रो अभिषेक बाँस्तोला यसपटक टोलीमा थिएनन् । अमेरिकामा रहेर व्यावसायिक टेनिस खेलिरहेका उनी छनोट खेल्नबाट वञ्चित भएका थिए । नेपाल टेनिस संघले जुन २ मा छनोट प्रतियोगिता राखेको थियो । छनोट खेल्न नआएको भन्दै उनलाई टोलीमा समावेश गरिएन । तर छनोट स्पर्धा हुनु दुई दिन अघिमात्र संघबाट आफूलाई जानकारी दिइएको भन्दै अभिषेकले तीव्र असन्तुष्टि पोखेका थिए । 

अभिषेकले अघिल्ला दुवै संस्करणमा एकलतर्फ अपराजित रहेकाले टोलीमा पर्ने आशाले निरन्तर प्रशिक्षण गरिरहेको र एटीपीका प्रतियोगिता खेलिरहेको बताएका थिए ।

तर संघले नेपालको नम्बर एक वरीयताका खेलाडी र आईटीएफको शीर्ष २ हजार वरीयताका खेलाडी मात्र सिधै डेभिस कप टोलीमा समावेश गर्ने प्रावधान रहेकाले अभिषेकले त्यो अवसर नपाएको जनाएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully