इटालियन टेनिस खेलाडी सिनर अहिले उच्च लयमा छन्, जसले गर्दा उनी लगातार चौथो ग्रान्ड स्लाम फाइनल खेल्न सफल भए
लन्डन — यानिक सिनर विश्व टेनिसका त्यस्ता खेलाडी हुन् जसलाई शान्त मान्न सकिन्छ । तर उनको र्याकेटले भने अचेल बोल्न थालेको छ । भर्खरै उनले विम्बल्डन टेनिसमा पुरुष एकलको उपाधि जिते । यो उनले जितेको पहिलो विम्बल्डन रह्यो । फाइनलमा उनले आफ्नो खेलजीवनको सबैभन्दा ठूला प्रतिद्वन्द्वी कार्लोस अल्कारेजलाई हराएको हो ।
सिनर भर्खर २३ वर्षका भए । तर उनले जितेको ग्रान्ड स्लाम संख्या ४ पुगिसकेको छ । यससँगै विश्व टेनिसमा सिनरविरुद्ध अल्कारेजको प्रतिद्वन्द्विता मज्जाले चल्ने छाँट देखिएको छ । अझ ठ्याक्कै भन्दा ‘बिग थ्री’ युग सकिँदै छ । त्यसको स्थान लिँदै छ यिनै दुई खेलाडीबीचको प्रतिस्पर्धाले । पछिल्ला सात ग्रान्ड स्लाम यिनै दुई खेलाडीले जितेकाले प्रस्ट छ । भएको यही हो ।
विश्व टेनिसमा अल्कारेज भनेपछि हाम्रासामु त्यस्तो छवि आउँछ, जसमा खेलाडी आक्रामक हुने गर्छ, खुबै जोखिम उठाएर खेल्ने गर्छ, त्यसैले समर्थकमाझ पनि लाकेप्रिय छ । यसको ठीक विपरीत सिनर असाध्यै शान्त भएर खेल्छन् अनि कोर्टमा पनि उनको व्यवहारमा भलाद्मीपन पाइन्छ । उनी बढी बेसलाइनबाट खेल्छन्, उनका प्रहार शक्तिशाली त हुन्छन् नै । त्यसमा पनि अचुकपन पाइन्छ ।
अझ उनको खेललाई २४ ग्रान्ड स्लाम विजेता सर्बियाली नोभाक जोकोभिचसँग दाँज्न सकिन्छ । उस्तै छ भन्ने अर्थमा । इटालीका खेलाडी सिनर अहिले उच्च र शीर्ष लयमा छन् भन्दा फरक पर्दैन । किनभने उनी लगातार चौथोपल्ट ग्रान्ड स्लाम फाइनल पुगेका छन् । गत वर्षको युएस ओपनदेखि उनी सानदार प्रदर्शन गर्न सफल रहेका छन् । जनवरीमा उनले अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेका थिए ।
मेलबर्नमा प्राप्त त्यो सफलतापछि उनको खेलजीवनमा एक प्रकारले आँधीहुरी नै आयो भन्दा हुन्छ । गत वर्ष उनी दुईपल्ट डोपिङमा समातिए, प्रतिबन्धित शक्तिबर्धक औषधि स्टेरोइड क्लोस्टेबोलको प्रयोगमा । त्यसपछि त उनीमाथि तीन महिनाका प्रतिबन्ध लाग्यो । सिनरको दाबी भने एउटै छ, आफूले यो प्रतिबन्धित औपाधिको अंश शरीरमा विना कुनै नियत प्रयोग गरेको हो ।
फिजियोथेरापिस्टले मसाज गर्ने क्रममा त्यो औषधिको अंश उनको शरीरमा प्रवेश भएको थियो । उनै फिजियोले घाउ निको पार्ने क्रममा त्यो औषधिको अंश भएको स्प्रे प्रयोग गरेका थिए । वर्ल्ड एन्टी डोपिङ एजेन्सीको पनि ठहर के रह्यो भने सिनरले कुनै पनि अर्थमा बदमासी गर्न खोजेका होइनन्, तर नैतिक जिम्मेवारी लिएर सजाय भने भोग्नुपर्नेछ ।
मे महिनामा सिनर कोर्टमा फर्किए र इटालियन ओपनको फाइनल पनि पुगे । त्यसमा उनी पराजित रहे अल्कारेजकै हातबाट । लगत्तै उनले फ्रेन्च ओपन उपाधि नजिक पुगे । त्यहाँ पनि उनलाई फाइनल पुग्न कसैले रोक्न सकेन । तर फाइनलको नतिजा भने धेरै अर्थमा उनका लागि अथाह पीडादायी रह्यो । त्यो खेलमा उनले अल्कारेजकै सामना गरे र यी स्पेनी खेलाडीले दुई सेटले पछाडि रहेको स्थितिबाट खेल जितेका थिए ।
त्यसक्रममा अल्कारेजले तीन सेट प्वाइन्टसमेत जोगाएका थिए र उपाधिको रक्षा गरे । यो नतिजापछि अल्कारेजको पक्षमा दुई खेलाडीबीचको प्रतिद्वन्द्विता ८–४ पुग्यो । अझ यसमा पनि अल्कारेज लगातार ५ खेलमा विजयी रहेका छन् । तर यो सबै स्थिति विम्बल्डन फाइनलमा फेरियो, जति बेला सिनरले आफ्नो परिपक्व मानसिक स्थिति देखाए र एक सेटले पछाडि रहेर पनि खेल सजिलै जिते ।
सिनरको जन्म जर्मन बोलिने उत्तरी इटालीको कानडिडोमा भएको थियो । यो अस्ट्रियाको सिमानामा पर्छ । त्यहाँ कसैका लागि व्यावसायिक टेनिस खेल जीवन सम्भव थिएन भन्दा हुन्छ । सानोमा उनी स्कीका च्याम्पियन खेलाडी थिए । त्यति मात्र होइन, उनी फुटबलका लागि ठीकठाकका खेलाडी रहे । यसबीच उनी टेनिस पनि खेल्थे । उनलाई उचाइको भने फाइदा छ । उनी ६ फिट ३ इञ्च अग्ला छन् ।
उनले सन् २०२० मा पहिलो उपाधि जितेका थिए । त्यो सोफियामा भएको इन्डोर्स प्रतियोगिता थियो । सन् २०१४ उनका लागि ब्रेक–थ्रु सिजन रह्यो । उनले यसक्रममा आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जिते अस्ट्रेलियन ओपन । त्यसपछि उनले एकपछि अर्को गरेर ७ उपाधि आफ्नो नाममा लेखाए । त्यसमा एक युएस ओपन उपाधि पनि पर्छ । गत वर्षको जुनमा उनी विश्व नम्बर एक खेलाडी पनि बने ।
एटीपीको वरीयताको शीर्षमा पुग्ने उनी इटालीका पहिलो खेलाडी थिए । उनको सबैभन्दा ठूलो र अचुक अस्त्र भनेकै खेल जस्तै तनावपूर्ण किन नहोस्, शान्त बन्ने नै हो । उनका प्रशिक्षक डरेन काहिल भन्छन्, ‘उनी भर्खर २३ वर्षका भए, तर मलाई कहिलेकाहीं लाग्छ, उनी यो भन्दा धेरै बढी उमेरका खेलाडी हुन् । उनी मलाई उत्तिकै परिपक्व खेलाडी पनि लाग्छ ।’
सिनर आफैं पनि टेनिस खेलाडीका रूपमा खुसी छन् । उनी भन्छन्, ‘म भाग्यमानी छुं, किनभने मैले टेनिस खेल्ने अवसर पाएँ । सुरुमा यो मेरो सौख थियो, तर अब यो पेसा भएको छ । मेरो लागि त अझै पनि यो सौखकै रूपमा छ भन्दा हुन्छ । मलाई कोर्टमा गएर खेल्नुको मज्जा नै बेग्लै लाग्छ । जतिबेला ठूलो कोर्टमा खचाखच दर्शकले भरिएको स्थिति बन्छ, त्यतिबेला खेल्नुको जति मज्जा अरू बेला हुन्न ।’
